मेरो लाइफस्टाइलः माछामासु छुन्न, सुत्ने ठेगान हुन्न

विद्यालयमा पढ्दाको कुरा । एकपटक साथीहरुले जाँड पिउँ भने । मलाई लाग्यो, ‘कस्तो हुँदोरहेछ, एकपटक स्वाद चाखौं न त ।’ उनीहरुकै लहलहैमा लागेर जाँड पिइयो ।

राती घर फर्केपछि खाना नखाई सरासर कोठामा गएँ । कोठामा पुगेपछि वान्ता भयो । बेस्सरी वान्ता गरेर सुतेछु । मम्मीहरु आउनुभएछ, ढोका ढक्ढकाउनुभएछ । ढोका खुलेन । जात्रा भएछ ।

पछि उहाँहरुले सबैकुरा थाहा पाउनुभएछ । मैले जाँड पिएको, वान्ता गरेको ।

अर्को रात घर फर्कदा मेरो कोठामा झ्यालको पर्दा थिएन । खासमा उहाँहरुलाई शंका लागेछ, यसले भित्र लुकेर केही खान्छ भनेर । त्यसैले चियो गर्नका लागि झ्यालको पर्दा गायब बनाइएको रहेछ । एक महिनासम्म मेरो कोठाको झ्याल नांगै । पर्दा लागेन ।

खासमा म अम्मली होइन । त्यो एकपटक मात्र चाखेको । अहिलेसम्म पनि मुखमा हालेको छैन । त्यसमाथि शाकाहारी । माछामासु छुन्नँ ।

तर, त्यस रातको घटनापछि के भइदियो भने, ममी–ड्याडी राती मलाई कुरेर बस्ने । म घर पुगेर फ्रेस हुँदासम्म कुरिरहने । केही क्षण कुराकानी गर्ने । खाना खाने । अनि मात्र सुत्ने ।

भद्रगोल दैनिकी

म घर राति एघार बजे पुगौं, बाह्र बजे पुगौं वा एक बजे नै पुगौं । ममी नरिसाइ उठ्नुहुन्छ । खाना पस्कनुहुन्छ । खाना खाइसकेपछि मात्र सुत्न जाने हो । राती घर पुगेर सोझै कोठामा पस्न पाउँदिन ।

अहिले त के भएको छ भने, घरका सबैजना मलाई नै कुरेर बसेका हुन्छन् । जब म पुग्छु, दिनभरका कुराहरु सुनाउँछन् । म पनि आफ्नो कुरा अपडेट गर्छु । एक हिसाबले यो संस्कार जस्तै नै भयो, मेरो घरमा ।

अक्सर राती अबेर सुत्छु । उठ्ने तालिका पनि त्यही अनुसार हुन्छ । बिहान चाँडै उठ्न सक्दिनँ । तर, सुटिङ छ वा अन्य काम छ भने म जतिबेला पनि उठ्न सक्छु । यदि काम छैन भने मेरो उठ्ने समय ८ बजेको हाराहारीमा हो । त्यतिबेला त ललितलपुर, एकान्तकुनास्थित मेरो घरमा कलिलो घाम परिसकेको हुन्छ ।

तर, काम परेको १८ घण्टा पनि खट्न सक्छु । मलाई ओछ्यानप्रति त्यस्तो लगाव भने होइन । सुटिङ, मिटिङ, प्रमोशनको कामले गर्दा घरमा बस्ने फुर्सद पनि त्यति मिल्दैन ।

बिहान उठेपछि एकपटक म्यासेजहरु हेर्छु । केही अपडेट हुन्छु । फ्रेस भएपछि किचनेमा जान्छु । ममीले चिया बनाइदिनुहुन्छ । चिया पिउँछु, दुधको ।खासमा उठ्नासाथ पानी पिउनुपर्ने हो । तर, मेरो बानी चिया पिउने । बरु राती सुत्नुअघि मस्त पानी पिउने गरेको छु ।

बाहिर काम छैन भने जिम जान्छु । नभए त सुटिङको सेड्युल अनुसार आफुलाई हिँडाउनुपर्छ । कहिले कहाँ, कहिले कता । कुनै निश्चित तालिका हुँदैन । सुटिङ, प्रमोशनमा घरबाहिर भइन्छ । यस्तो बेला आफ्नो नियमित दैनिकी भने भद्रगोल हुन्छ । लेट नाइट काम गर्‍यो, सुत्यो । बिहान कतिबजे उठ्नुपर्छ, उठ्यो ।

म शाकाहारी

यति अस्तव्यस्त जीवनशैली भएर पनि मलाई खास शारीरिक समस्या भने छैन । फिजिकल फिटनेसका लागि समय निकाल्न नसके पनि पेट बढ्ने समस्या छैन । सायद खानपानको कारण होला । मेरो घरमा सादा खाना पाक्छ । परिवारका सबै शाकाहारी भएकाले यस्तै खाना खाइन्छ । दुध, दही, गेडागुडी चाहिँ बढी खाइन्छ ।

तर, शाकाहारी भन्दैमा माछामासुलाई घृणा गर्ने चाहिँ होइन । म माछामासुमा अभ्यस्त नभएकाले मात्र नखाएको हो । सबै किसिमको खानेकुरा एकपटक चाख्नुपर्छ भन्ने चाहिँ लाग्छ । एकपटक थाइल्यान्ड गएको बेला समुन्द्री खाना खाएको थिएँ, खास स्वाद लागेन ।

ममीले मेरो ज्याकेटको खल्तीमा काजु, किसमिस जस्ता ड्राइ फ्रुट्स राखिदिनुहुन्छ । दिउँसो प्राय म त्यही टोक्छु । राती घर पुगेपछि फेरी खाना खाइन्छ । दाल, भात, तरकारी नै मेरो प्रिय परिकार हुन् ।

घरमा बस्दा चलचित्र हेर्छु

सुटिङमा भएको बेला आफ्नो मर्जी अनुसार सबैकुरा चल्दैन । तर, फुर्सदको बेला, घरमै भएको बेला आफ्नो हिसाबले रमाउने कोशिस गर्छु । घरमा प्राय म चलचित्र हेर्छु । मलाई ‘कन्टेन्ट बेस्ड’ चलचित्र मनपर्छ । हलिउड तथा बलिउडका चलचित्र खोजेर हेर्छु । नेपाली चलचित्र पनि भेटेसम्म हेर्छु । राम्रो चर्चा चलेको चलचित्र छुटाउने गरेको छैन ।

चलचित्र हेरिरहँदा म दर्शकको रुपमा हुन्छु । दर्शककै आँखाबाट हेर्दा चलचित्र हेर्दा बढी आनन्द लाग्छ । तर, नचाहेरै पनि प्राविधिक कुरामा चाहिँ ध्यान जाने रहेछ । क्यामेरा वर्क कस्तो भयो, कसरी फ्रेमिङ गरियो भन्ने कुरामा चासो हुन्छ ।

त्यस्तै अभिनयबारे पनि मनमनै मूल्यांकन गर्छु । कसको अभिनय कस्तो भयो भन्दा पनि कति कन्भेन्सिङ छ, कति नेचुरल छ भन्ने कुराको ख्याल गर्छु ।

आफ्नो अभिनय हेर्दा लाज लाग्छ

अरुले गरेको अभिनय हेरेर त्यसको मूल्यांकन गर्छु, मनमनै । तर, आफ्नै अभिनय हेर्न भने मलाई लाज लाग्छ । असहज लाग्छ ।मेरो अभिनय देखेर कति दर्शक रुन्छन्, हास्ँछन् । तर, मलाई थाहा हुन्छ कि त्यो अभिनय मात्र हो, नाटक मात्र हो भनेर । त्यही कारण अलि लाज लाग्छ ।

मलाई आफ्नो क्यारेक्टरमा भिजेर अभिनय गर्न मन लाग्छ । स्क्रिप्ट हातमा परेपछि नै आफ्नो क्यारेक्टर कस्तो हो भन्ने मोटामोटी थाहा हुन्छ । तर, बेलाबखत निर्देशक र आफ्नो सोच एकरुप हुँदैन । त्यसैले स्क्रिप्ट पाइसकेपछि वा आफ्नो क्यारेक्टर हेरिसकेपछि डाइलग कन्ठ बनाउने काम चाहिँ गरिदैन ।

जब सुटिङ स्पटमा पुगिन्छ, त्यहाँ निर्देशकको भनाई सुन्छु । उनले कस्तो क्यारेक्टर खोजेको हो, कस्तो अभिनय खोजेको हो भन्ने कुरा बुझ्छु । यसमा निर्देशक र मेरो सोच कति मिल्यो भन्ने पनि हुन्छ । यदि आफुले सोचेको बढी राम्रो भयो भने यसबारे आफ्नो कुरा राखिन्छ । यो क्यारेक्टरलाई यसरी गर्दा बढी राम्रो होला कि भनेर सल्लाह दिन्छु । यसको मतलब निर्देशकलाई सोझै आफ्नो कुरा लाद्ने होइन । कसो गर्दा बेटर हुन्छ भनेर सोच्ने हो ।

सबैको आआफ्नो दृष्टिकोण हुन्छ । यसमा आफुलाई राम्रो लागेको वा मन परेको नै हुनुपर्छ भनेर जिद्दी गर्ने कुरा भएन । केवल परामर्श गर्ने हो । निर्णायक भूमिका निर्देशककै हुन्छ । निर्देशकले भने बमोजिम नै आफुलाई पेश गर्ने हो ।

गेटअपले चरित्र बोल्नुपर्छ

अहिले धेरै अभिनेताहरु छन्, जसले क्यारेक्टरलाई रोचक बनाउन आफैले अतिरिक्त मेहनत गर्छन् । एकलाइन स्क्रिप्ट लिएर उनीहरु क्यारेक्टर डिजाइनमा खटिन्छन् । मेरो हकमा भन्नुपर्दा जुन क्यारेक्टर आफुलाई फरक लाग्छ वा नगरेको भन्ने लाग्छ, त्यसमा वर्कआउट गर्छु ।

‘रोज’ फिल्मकै कुरा गरौं । त्यसमा मेरो क्यारेक्टरले मान्छे मारेको हुन्छ । अब फिल्मको पोस्टरमा हेरेर कसरी थाहा हुन्छ, यसले मान्छे मारेको छ कि छैन ? यसका लागि सबैभन्दा प्रभावकारी माध्यम भनेको गेटअप हो ।

एउटा प्रहरीको ड्रेस लगाएर हिँडेको मान्छे देख्दा उसलाई प्रहरी नै ठानिन्छ । अर्थात आवरणले पनि उसको मनोविज्ञान वा प्रवृत्तिको झल्को दिन्छ । यसकारण म गेटअपमा ध्यान दिन्छु । गेटअपबाटै क्यारेक्टर झल्काउने प्रयास गर्छु ।

सोझो वा सामान्य जस्तो देखिने मान्छेभित्र पनि हत्यारा प्रवृत्ति लुकेको हुन्छ । तर, त्यो कुरा कसरी बाहिर देखाउने ? यसमा गेटअप नै महत्वपूर्ण हुन्छ । दर्शकले पोस्टर वा ट्रेलर हेरिरहँदा उक्त क्यारेक्टर हत्यारा हो भन्ने भेउ पाउन सकोस्, जसका लागि उपयुक्त गेटअप आवश्यक हुन्छ । रोजमा मैले मारेको भनेर बुझाउनका लागि डायलग वा सिनभन्दा पनि लुक्स बढी प्रभावकारी रह्यो ।

अब आउँछ अभिनयको कुरा । अभिनय भनेको आफ्नो क्यारेक्टरअनुसार आफुलाई रुपान्तरण गर्ने हो । बेलाबखत आफ्नो क्यारेक्टरलाई थप परिमार्जन वा परिस्कृत गर्ने अवस्था पनि आउँछ । स्क्रिप्ट हेरिसकेपछि फेरी आफ्नो क्यारेक्टर डिजाइन गर्ने काम पनि हुन्छ । प्रेमगीत–२ मा नै मैले क्यारेक्टर डिजाइन गरेको हुँ ।

हुन त यो लभस्टोरी फिल्म थियो र लभरब्वाईको रुपमा मेरो भूमिका थियो । तर, केवल लभरब्वाई मात्र फिका हुने । त्यसभित्र पनि अनेक किसिमको प्रवृत्ति राख्न सकिन्छ । जस्तो कहिले रोमान्टिक, कहिले भावुक, कहिले कमेडी, कहिले साहसी ।

यस्ता अनेकथरी चरित्रलाई एउटै पात्रमा देखाउन सक्दा राम्रो हुन्छ । यसमा मेरो क्यारेक्टर पहिले हावा टाइपको छ । कपाल जिङ्ग्रीङ्ग छ । त्यही केटा प्रेममा पर्दै गएपछि एकदम रोमान्टिक हुँदै जान्छ । जब अर्को फेजमा आइपुग्छ, त्यसबेला कपाल काटेर सामान्य केटाको रुपमा देखिन्छ । कुटाई खान्छ इमोशनल हुन्छ । दर्शकलाई रुवाउँछ । र, अन्त्यमा कपाल चिल्लो बनाएर फाइट खेलेर हिरोइन पाउँछ ।

साना तत्व प्रभावकारी

फिल्ममा सानो डायलग, सानो दृश्य पनि निकै शक्तिशाली हुन्छ । कसैले भनिदिएको सानो कुराले पनि कसैमाथि गहिरो प्रभाव पार्न सक्छ । जीवन परिवर्तन हुन सक्छ । टर्निङ प्वाइन्ट आउन सक्छ ।

जस्तो म देवदास फिल्मको एउटा दृश्य सम्झन्छु । आमाले शाहरुख खान र ऐश्वर्य रायलाई एकदम खुसी भएर खेलिरहेको देखेकी हुन्छे। कसैले सोध्छ, ‘के देखेर खुसी भइरहेकी ?’

आमा भन्छिन्, ‘हेर न पारु र देव कस्तो मिलेर खेलिरहेको ।’आमाको अपेक्षाविपरित प्रश्न गरिन्छ, ‘त्यै त है, अलि बढी नै घुलमिल भएजस्तो लागेन ?’आमा भन्छिन्, ‘बच्चैदेखिको साथी हो नि त ।’

आमाको मथिंगल हल्लाउने जवाफ आउँछ ‘तपाईंले याद गर्नुभयो कि भएन, अब यिनीहरु बच्चा रहेनन् ।’अब आमालाई महसुस हुन्छ कि ‘हो त यिनीहरु अब बच्चा रहेनन् । यिनीहरुलाई त अब छुटाउनु पर्छ ।’

हेर्नुहोस् त, एउटा सानो डायलगले फिल्ममा पुरै ट्वीस्ट ल्याउने सामथ्र्य राख्छ । आमाले बोल्ने यो डायलगले दर्शकलाई स्तब्ध पार्छ । साथै कौतुहलता पैदा गर्छ । अब के होला ? भन्ने ।

त्यसैले मलाई ठूलो घटना हुनुपर्छ, ठूलै कुरामा बदलाव देखाउनुपर्छ भन्ने लाग्दैन । यी स–साना तत्वहरुले फिल्मलाई खँदिलो बनाइदिन्छ । रसिलो बनाइदिन्छ । क्यारेक्टरको कुरा पनि यसमा लागु हुन्छ ।

मान्छेको प्राकृतिक गुणः कल्पनाशिलता र अभिनय

मैले कतै पढेको थिएँ, संसारमा चराका धेरै प्रजाति भएजस्तै, कुकुरका धेरै प्रजाति भएजस्तै मान्छेको पनि धेरै प्रजाति थिए । त्यसमध्ये सबैथरी प्रजाति मासिए र एकथरी मात्र अस्तित्वमा रहे । किन ?किनभने उसमा दुई वटा गुण थियो, जुन अरु प्रजातिमा थिएन । एउटा कल्पनाशीलता र अर्को अभिनय ।

हामी कुनै पनि परिस्थितीको परिकल्पना गर्न सक्छौं । साथै जस्तोसुकै अवस्थाको पनि अभिनय गर्न सक्छौं । समाजमा बाँच्नका लागि हामी अभिनय गरिरहेका छौं । जस्तो, हामी साथीहरुसँग बस्दा फरक चरित्र हुन्छ । गर्लफ्रेन्डको अगाडि बस्दा फरक चरित्र हुन्छ। आमाबुवासँग बस्दा ती दुबैभन्दा फरक हुन्छ ।

यसर्थ मान्छेले अभिनय भन्ने कुरा अतिरिक्त कतैबाट लिएर आउने होइन । अरुबाट सिकेर जान्ने पनि होइन । यो स्वतस्फूर्त उनीहरुभित्रै आउने कुरा हो ।

सिक्नुपर्ने कुरा भनेको अभिनयलाई कसरी क्यामेरा अघिल्तिर पेश गर्ने भन्ने हो । क्यामेरा अगाडि उभिएर अरु कुनै चरित्रलाई कसरी आफुमा रुपान्तरण गर्ने भन्ने कला चाहिँ सिक्नुपर्छ । यसका केही विधी होलान् । केही तौरतरिका होलान् ।यसका लागि बाहिरका कुराहरुमा पनि ध्यान दिनुपर्छ । कसले कस्तो बोल्छ, कस्तो बडील्याङ्वेज छ ? इत्यादि कुरा नियाल्नु पर्‍यो ।

निर्देशक क्रिएटिभ, कलाकार एडेप्टिभ

सबै कुरा कलाकारमा निर्भर हुने होइन । कलाकार भन्दा बढी त निर्देशक क्रिएटिभ हुनुपर्छ जस्तो लाग्छ । किनभने एउटा फिल्म भनेको समग्रमा निर्देशककै कृति हो । निर्देशककै रचना हो । उसले कस्तो चाहेको, के चाहेको भन्ने कुरा अरुले होइन, निर्देशकले नै निक्र्यौल गर्ने हो ।

यद्यपि, निर्देशकको आ–आफ्नै शैली हुन्छ । जस्तो भारतमा हेर्ने हो भने सन्जय लिला भन्सालीको आफ्नो शैली छ, रोहित सेट्टीको आफ्नो शैली छ । यस्तो बेला कलाकार क्रिएटिभ भन्दा पनि एडेप्टिभ हुनुपर्छ, जसले गर्दा जस्तोसुकै निर्देशकका लागि पनि उसले चित्तबुझ्दो काम गरिदिन सक्छ ।

तर, हामीकहाँ निर्देशकको उपस्थितिमाथि नै प्रश्न उठाउने गरिन्छ । निर्देशक क्रिएटिभ भए पो कलाकारबाट अभिनय पनि निकाल्न सक्छ । त्यस्तो भएन भने कलाकार नै भुत्ते देखिन्छ ।

म चाहिँ कुनै निर्देशकसँग बस्दा सुरुमा कन्सेप्ट सोध्छु । केही छिन कुराकानी हुँदा नै निर्देशकको सोंच के हो, भिजन के छ मोटामोटी थाहा पाउन सकिन्छ ।

किनभने निर्देशकमा सिर्जनात्मक क्षमता त हुनुपर्छ नै, त्यसले मात्र पुग्दैन । धेरै कुराको अनुभव र ज्ञान हुनु आवश्यक छ । साउन्ड, लाइट, सिनेम्याटोग्राफी, मेकअप । तर, नेपालको हकमा के छ भने राम्रै निर्देशकले पनि खुलेर काम गर्न पाइरहेका हुँदैनन् । यसमा चाहि आर्थिक लगायतका केही कारण छन् ।

त्यसैले कति निर्देशक आफैमा अब्बल भएर पनि राम्रो नतिजा दिन सकिरहनुभएको छैन । यसमा उनको

समर्पणको अभाव

नेपाली चलचित्र हेरिरहँदा मेरो मनमा एउटै कुरा अपुग जस्तो लाग्छ, समर्पण । पर्फेक्सनका लागि समर्पण चाहिन्छ । तर, हामीकहाँ चलचित्रप्रति समर्पण नै नपुगेको हो कि भन्ने लाग्छ ।

धेरैले चलचित्रलाई बिजनेस मात्र ठानेका छन् । लगानी गरेर तत्काल प्रतिफल लिने माध्यम । अर्काथरी यसको ग्ल्यामरबाट तानिएका छन् । फिल्मको चमकदमक देखेर यसमा लागेका छन् । उनीहरुले चलचित्रलाई ‘टाइम पास’ वा ‘पार्ट जब’को रुपमा मात्र लिएका छन् । चलचित्रमा भविष्य खोज्ने र यसका लागि लागिपर्नेहरु सायद निकै कम होलान् ।

(शिव मुखियासँग गरेको कुराकानीमा आधारित )

You might also like More from author

Leave A Reply

Your email address will not be published.