जापान आएको पहिलो बर्षमा मैले जे भोगेँ

मनैभरी आफ्नो र परिवारको सुनौलो भविश्यको सपना र मुटुभरी देशको मायाँ बोकेर अमिलो मन बनाउँदै त्रिभुवन विमानस्थलवाट जहाज चढेको पनि पनि १ वर्ष पुगिसकेछ । सबैभन्दा महंगो र हतारै–हतारको शहर मानिने टोकियोको एक कुनामा बसेर जिन्दगीका संघर्षसिल पाईलाहरुले हर दिन आफ्नो गन्तब्य खोजिरहेकै छु । म मात्र हैन जापानका यि बस्तिहरुमा म जस्ता सत्तरी हजार नेपालीह यसैगरि भौतारिरहेका छन् ।

यस शहरमा सुरुवातका केही दिनहरु निकै कष्टपूर्ण र कहालिलाग्दा थिए । आफ्नो भन्ने कोही थिएन, एक त सबै आफ्नै हतारै हतारमा देखिन्थे भएका आफन्त र साथीभाईले पनि खासै वास्ता गरेनन् भन्दा फरक पर्दैन । दुख लागेको कुरा म भन्दा केहि समय पहिला जापान प्रवेश गर्नुभएका आफन्तजनहरु समयसंगै वदलिएर आफन्त चिन्नै छोड्नुभएछ । अझै भनौं नेपाल छँदा ‘छिटो आउ काम म लगाईदिन्छु’ भन्नेहरुले पनि फोन उठाईदिएनन । नेपाल छँदा सुनेको जापान र यहाँ आएर देखेको जापानमा आकाश–पातालको फरक देख्दै थिएँ । घना जंगलको वीचमा आँफू भएजस्तो महशुस गर्थे, यति धेरै मान्छेहरुको भिँडमा एक्लै भएजस्तो लाग्थ्यो ।

यहाँ अंग्रेजी नचल्ने, आँफूलाई जापानी भाषा नआउने । भाषाकै समस्याका कारण काम, किनमेलदेखि लिएर पाइला पाइलामा समस्या भोग्न बाध्य भैयो । नेपालमा शिक्षण, पत्रकारिता र वजार ब्यवस्थापन यस्तै पेशाको काम र अनुभवलाई विट मार्दै रुखवाटै पैसा टिप्न पाइएला झै गरेर जापान हाँनिएकी थिएँ म । करिव ३ महिनासम्म आफ्नो नाममा मोवाइल थिएन । फोन निकाल्नको लागी मोवाईल सपमा जाँदा बैंक खाता, क्रेडिट कार्ड खोजेर हैरान पार्थ्यो नत म संग कुनै काम नै थियो । श्रिमानको तलब घरभाडा, पानी, बिजुली र ग्याँसको बिल तिर्दैमा ठिक्क हुन्थ्यो। तिनै कुराहरुले मानशिक तनाव भैरहन्थ्यो । यस्तो परिस्थितिमा नेपालमा सन्चो विसन्चो सोध्नभन्दा धेरै समय फोन गर्न त कहाँ पो सम्भव थियो र ? त्यस्तो असहज परिस्थितिमा पनि ‘फलानाकी बुहारी जापान पुगेकी ठूली भैसकीछ’ भन्दै फेसबुकमा समेत ब्लक गर्नुहुने मेरा प्रिय आफन्तहरुमा मिठो सम्झना ।

कामको लागि भाषाको ठुलो समस्या थियो । नेपाली कामदार भएको यासाई (तरकारि प्याक गर्ने) कम्पनीमा कमला दिदीले पहिलो काम लाईदिनुभो । धन्न दिदी चिनजानकै हुनुहुन्थ्यो र सजिलो भयो, सामान्य कामका लागि स्यौखाई गर्नेहरुले पनि २–३ मान पैसा माग्छन् अरे भन्ने सुनेकी थिएँ । मेरो हकमा त्यस्तो भएन । खुशि हुँदै काम सुरु गरें । आएको लामो समयमा काम पाउँदा खुशीले गदगद् भएको अनुभव सायद मसंग मात्र छैन जापानमा । काम नयाँ र भाषा समेत नजानेका कारण संगै काम गर्ने केही साथीहरुले त नेपालीको नाताले सहयोग गर्नु त परै जाओस् अनेकौ गल्ती देखाएर कामवाट निकाल्न प्रयास समेत गरे । ट्रेन स्टेशनबाट काम गर्ने ठाउँसम्म लाने–ल्याउने कम्पनिकै गाडिमा चढ्दा पनि थिचोमिचो गर्ने नेपाली दिदीबहिनीहरु देख्दा घृणा जागेर आउँथ्यो । वहाँहरुको मानवताप्रति अझैपनि दया जागेर आउँछ । वहाँहरुका तिनै औषधिजस्ता गालीले गर्दा ‘जापानमा केही गर्छु’ भन्ने आँट निकाल्थें, मनलाई दह्रो बनाउँथें।

टोकियोमा नारी दिवसको कार्यक्रम रहेछ । पत्रकारितामा रुचि देखाउने भएकाले होला साथीले ‘कार्यक्रममा जसरी भएपनि आउनु है’ भन्दै निम्तो दिएकी थिईन । नेपाली महिलाले महिलाकै समस्या बुझ्दैनौ र अर्काको देशमा गुलामी गर्दासम्म एकअर्कालाई पछार्नै खोज्छौं कामभन्दा कुरा बढि गछौं भने पुरूष समान अधिकार पाएनौ भन्दै एक दिन भाषण छाँट्नुको पनि कुनै तुक छैन भन्ने कुरा त्यही दिन महशुष गरें ।

उता काम गर्ने ठाउँमा कम्पनीको मालिकले हामीसंगै काम गर्थ्यो, म नयाँ भएकाले होला ‘यसरी गर’ भनेर सिकाउँथ्यो तर ‘सेम्पाई’ दिदीहरुले भने आँफु नै मालिक भएजसरि गाली गर्नुहुन्थ्यो । भाषा नजानेकै कारण काममा अरुले गरेको गल्तिको भागिदार पनि आफै बन्नुपर्थ्यो । यो समस्या मेरोमात्र पक्कै हैन, भाषा नजानेकै कारण काम गर्ने ठाउँमा यस्ता समस्या भोग्ने दिदीबहिनी अरु पनि पक्कै थिए, जो मेरैजस्तो यासाई, बेन्तो वा यामातोमा काम गर्थे ।

यस्तै यस्तै कुराहरु मनमा खेलिरहँदा त भोलीनै नेपाल फर्कने प्लेन टिकट काटौं जस्तो नभएको कहाँ हो र । देशको माया विदेशिएपछि मात्र थाहा हुने रहेछ, त्यसैमाथि आफन्तहरुको सम्झना । सुन्दर भविश्यको रंगिन सपनाहरु बुन्दै जापान आएकी म घर फर्किईहालौं भने मलाई मेरो समाजले के भन्ला भन्ने पिर पनि थियो ।

यि कुरा लेखिरहँदा म सबैलाई आक्षेप लगाइरहेकी छैन, सबै नराम्रा छन् भन्नु मेरो लेखाइको आशय पक्कैपनि होइन । यो विरानो देशमा कोहि त पराई पनि आफ्ना हुँनेरैछन् काममा गह्रौ भारी उचाल्ने बेला आँखाका आँशु देखेर आफुले बाँधेको कम्मरको वेल्ट फुकालेर दिने साबित्रा दिदिलाई म कहिल्यै बिर्सन सक्दिन र आफ्नै सम्झेर मायाँ, हौसला, मार्गनिर्देश गर्ने सुनिता दिदीलाई पनि ।

अर्को कामको सिलसिलामा मेनसेचु (अन्तर्वार्तामा) गएँ । जहाँ म जस्तै नेपालीहरुले कोठा सफा गर्ने, ट्वाईलेट पुछ्ने, भँडा माझ्ने यस्तै–यस्तै काम गर्दै थिए । अन्तवार्तामा छानिएदेखि मैले पनि त्यही काम गर्नुपर्ने थियो । हरेक कामको सम्मान म पनि गर्छु तर त्यो दिन काम हेरेर फर्केपछि कोठाभित्र एक्लै भकान्निदै रोएँ । जुन प्रकारको समाजमा म हुर्किए र शिक्षा पाएँ त्यसले कामलाई हेयभावले हेर्ने सोचाई म मा पलाउनु र आँफु त्यस्तो काम गर्न बाध्य भएकोमा ग्लानी महशुष गर्नु पक्कै पनि मेरो गल्ती थिएन ।

शैद्दान्तिक ज्ञानले भन्दा ब्यवहारिक ज्ञानले मानिसलाई धेरै कुरा सिकाउँदोरहेछ । सोेझो अर्थमा भन्दा कुराले मात्र भन्दापनि भोगाइले धेरै ज्ञान दिनेरैछ, छोटो समयमा जापानबाट मैले सिकेको पाठ पनि यही हो ।

परेपछि गरिन्छ भन्ने स्वभावलेनै होला विभिन्न हाकेनहरुको नम्बर खोजेर आँफैले फोन गर्थें, मेनसेचुमा जानका लागि ट्रेन लाइन छुट्टाउन नसकेर पूर्व जानुपर्ने मान्छे पश्चिम पनि पुगें, काममा जॉदा ५ मिनेट ट्रेन छुटेर ढिलो हुँदा साहुले कामवाट निकालिदिएको पिडा पनि ताजै छ। त्यही कुराले समयको महत्व बुझाएको छ ।

जापान विकासको चरमचूली चुम्दैछ, कारण यहाँका मान्छेकै मेहनतको प्रतिफल हो । हतारै हतारको यो शहरमा लाइन बसेका कुनैपनि ठाउँमा कसैले लाइन मिचेर अगाडि गएको मैले देखेकी छैन । सरकारी कार्यालय हुन् या पसल तथा रेष्टुराँ ग्राहकहरुको एकदमै सम्मान गर्छन जापानीहरु, हाम्रो देशमा ज्वाईचेलालाई ससुरालीमा गरिनेजस्तै गरेर । लाग्छ यहाँका मान्छेहरु जीबन धान्नका लागि दौडन्छन् । हतार सबैलाई छ तर यत्रो भिडभाडमा पनि कसैले कसैलाई घुच्चाउँदैनन् । कथमकदाचित छोइहाल्यो भनेपनि शिर झुकाएर गोमेनासाइ (माफ गर्नुहोला) भनिहाल्छन ।

डिपेन्डेन्ट, कुक, बिद्यार्थी, कामदार, बिजनेश होल्डर जो सुकै हुन, जापानमा सबैसंग आ–आफ्नै समस्या छन् । बाटोमा हिडिरहेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई हेरेरै चित्त बुझाउँछु, यिनलाई पनि त पक्कै मेरैजस्तो पिर मर्का होला भनेर । यहाँ दुखमात्र छैन, दुखभित्र खुशी आँफैले खोज्न सक्नुपर्ने रहेछ । मेहेनत नै सबैथोक रहेछ ।

एक बर्ष आँफैमा छोटो समय हो तर यही छोटो समयमा जापानले मलाई धेरै कुरा सिकायो, अबका दिनमा के–के सिकाउने हो हेर्न र भोग्न बाँकी नै छ । जापानको बसाईंमा देखेभोगेका धेरै कुरा मनमै बसिरहन्छन् जस्तो कि मैले भेटेका कुनैपनि जापानीले यो काम ठूलो र यो सानो भनेर छुट्टाएका छैनन् । चट्ट मिलाएर कोट पाइन्ट लाएकाहरुले पनि झाडु लिएर वाटो सफा गरिरहेका भेटिन्छन् ।बुढाबुढीहरु पनि उत्तिकै काम गर्छन हरेक कामको सम्मान गर्छन । हरेक ठाउँमा सहयोग र शिर झुकाउँदै सम्मानजनक ब्यवहार धेरै देखाउंछन । यहाँका मान्छेहरुको सभ्यता अनुसाशन र झुकाव देख्दा म पनि बुहारीजस्तै बनेर झुक्न सिक्दैछु र गर्वका साथ प्रण गर्छु जापानमा म झुकेपनि मेरो स्वाभिमान झुक्न दिनेछैन, नेपाली हुनुको गरिमा कम हुन दिनेछैन ।

लक्ष्मी पौडेल घिमिरे

You might also like More from author

Leave A Reply

Your email address will not be published.