गाउँपालिका अध्यक्ष शुक्लाले नेकपा परित्याग गरे

रुपन्देही, २६ फागुन । रुपन्देही सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) ले नेकपा परित्याग गरेका छन् । बब्लुले आफ्नी श्रीमती पल्लबी शुक्लासहित पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पल्लबी गत निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ बाट प्रदेश सभा सदस्य उम्मेदवार बनेकी थिइन् ।

स्थानीय तह निर्वाचनमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट गाउँपालिका अध्यक्ष निर्वाचत उनलाई तत्कालिन नेकपा एमाले उपाध्यक्ष बामदेव गौतम र उपमहासचिब बिष्णु पौडेलले एमालेमा प्रवेश गराएका थिए ।

शुक्लाले केही समय अघि प्रदेश सरकारले शुरु गरेको मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रममा गाउँपालिकाको लागि कार्यक्रम सहजकर्ता गलत आचरण भएको व्यक्ति चयन गरेकोले असन्तुष्टी जनाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

शुक्लाका अनुसार मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमको सहजकर्ताको बिषयमा आफूले नेकपा महासचिब बिष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, मन्त्री लिला गिरी र आरती पौडेलसँग छलफल गरेता पनि उनीहरुले आफ्नो कुरा नसुनेपछि पार्टी त्याग्ने निर्णयमा पुगेका हुन् ।

यसैगरी, शुक्लाले आफूलाई पार्टी प्रवेश गराएपनि मर्चवार क्षेत्रमा नेकपाको कमिटी गठन गर्ने बेला कुनै सल्लाह नै नलिएको बताएका थिए। मर्चवार क्षेत्रमा नेकपाको जनमत थोरै भएको तर, आफू पार्टीमा प्रवेश गरेपछि स्थिती राम्रो भएको बताउँदै शुक्लाले आफू कसैको दमन सहेर पार्टीमा बस्न नचाहेको जानकारी दिए ।

मर्चवारको बिकासमा आफूले धेरै काम गर्न चाहेता पनि पार्टी र सरकारले असहयोग गरेको बताउदै शुक्लाले अब आफू स्वतन्त्र रहेर मर्चवारका जनताको चाहना अनुसार अघि बढ्ने बताए ।

मर्चवारमा भारतीय सिमा तैरेनी नाका खोल्न र स्तरिय सडक निर्माण गर्न डेढ बर्षदेखि आफूले धेरै प्रयास गरेको तर, यसमा पनि पार्टी र सरकारबाट कुनै सहयोग नपाएको शुक्लाले दाबी गरेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्र मर्चवारस्थित आफ्नै निवासमा आइतबार बिहान कार्यक्रम गरी शुक्लाले नेकपा परित्याग गरेको घोषणा गरेका हुन्।

You might also like More from author

Leave A Reply

Your email address will not be published.