जिनेदिन जिदान रियल मड्रिडको प्रशिक्षकमा फर्किए, सोलारी बर्खास्त

२८ फागुन, काठमाडौं । जिनेदिन जिदानले फेरि रियल मड्रिडको प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनले गत मे महिनामा रियल मड्रिडको प्रशिक्षक पद त्यागेका थिए ।

त्यसपछि प्रशिक्षकको जिम्मेवारी सान्टियागो सोलारीले पाएका थिए । तर, उनको प्रशिक्षणमा रियल मड्रिडले राम्रो खेल प्रदर्शन गर्न सकेन। त्यसको पछिल्लो उदाहरण हालै रियल मड्रिड अन्तिम १६ बाटै बाहिरिन पुग्यो ।

गत मंगलबार राति आफ्नै घरेलु मैदानमा प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिड नेदरल्यान्ड्सको आयाक्ससँग ४-१ गोलअन्तरले पराजित भयो र समग्रमा ५-३ गोल अन्तरले पछि पर्दै च्याम्पियन्स लिगबाट बाहिरियो । रियल मड्रिड पछिल्लो २२ वर्षमा अन्तिम १६ बाटै बाहिरिएको यो पहिलो पटक हो ।

त्यसपछि क्लबका अध्यक्ष फ्लोरेन्टिनोले सोलारीलाई प्रशिक्षकबाट हटाएर जिदानलाई फर्काएका हुन् । जिदानले रियल मड्रिडसँग सन् २०२२ सम्म सम्झौता गरेका छन् ।

४६ वर्षीय जिदान रियल मड्रिडका पूर्व मिडफिल्डर हुन् । उनले रियल मड्रिडलाई लगातार तीन सिजन च्याम्पियन्स लिग फुटबलको उपाधी दिलाएका थिए ।

रियल मड्रिड बाहिरियो, आयाक्सको सनसनीपूर्ण जीत

साविक विजेता रियल मड्रिडले नसोचेको नतिजा हात पार्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । आयाक्स भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति आफ्नै घरेलु मैदानमा प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिड नेदरल्यान्ड्सको आयाक्ससँग ४-१ गोलअन्तरले पराजित भएको हो । समग्रमा रियल मड्रिडले ५-३ गोलअन्तरको हार ब्यहोर्दै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पहिलो लेगमा भने रियल मड्रिडले आयाक्सलाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।

पहिलो लेगमा आफ्नो अग्रता भएपनि दोस्रो लेगमा नराम्ररी पराजित हुँदै रियलले प्रिक्वाटरफाइनलमै च्याम्पियन्स लिगको यात्रा सकाएको हो ।

आयाक्सले रियलमाथि नसोचेको नतिजा हात पारेको हो । पहिलो हाफमा दुई गोल गरेको आयाक्सले दोस्रो हाफमा थप दुई गोल गर्दा रियलले एक गोल फर्काउन सफल भएको थियो ।

खेलको सातौं मिनेटमा नै हाकिम जियाचले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । सुरुवाती समयमा नै अग्रता बनाएको आयाक्सले खेलको १८औं मिनेटमा दोब्बर अग्रता बनायो । यो पटक डेभिड नेरेसले गोल गरेका थिए ।

त्यस्तै, ६२ औं मिनेटमा डुसन टाडिकले गोल गर्दै आयाक्सको अग्रतालाई ३-० मा पुर्‍याएका थिए । तर मार्को एसेन्सियो ७० औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिस गरेका थिए । लसी स्चोनले ७२ औं मिनेटमा गोल गर्दै आयाक्सलाई ४-१ गोलको जित दिलाए ।

पछिल्लो समयमा रियल मड्रिड निकै कमजोर टिम बन्दै गइरहेको छ । विश्वचर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोलाई आफ्नो क्लबबाट बिक्री गरेपश्चात रियलको खेल स्तर निकै घटेको छ । आयाक्सविरुद्धको खेलमा भने नियमित कप्तान सर्जियो रामोस पनि थिएनन् । उनी दुई खेलको प्रतिबन्धमा छन् ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.