केपी ओलीविरुद्ध भीम रावल झन् आक्रामक, सुदूरपश्चिममा प्रवेश निषेध !

कैलाली – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिमका नेताको आन्तरिक कलहले प्रधानमन्त्री केपी शर्मा ओलीको सुदूरपश्चिम भ्रमण बिथोलिएको छ ।

पार्टीभित्र विभिन्न मुद्दामा आन्तरिक कलह बढेका बेला प्रधानमन्त्री ओलीको भ्रमण बिथोलिएको हो ।

कैलाली जिल्ला समन्वय समितिले कर्णाली नदीमा आयोजना गरेको र्याफ्टिङ ज्याम्बोरी तथा पर्यटन महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आगामी चैत २ गते कैलाली जाने कार्यक्रम तय भएको थियो ।

कर्णालीमा आयोजना गर्ने र्याफ्टिङ ज्याम्बोरीलाई गिनिज बुक अफ वर्डमा नाम लेखाउने तयारी आयोजकले गरेको थियो । एक सय एघार वटा डुंगामा करीब बाह्र सय मानिसले एकैपटक र्याफ्टिङ गर्ने उक्त कार्यक्रमले कर्णाली करिडरका आठ जिल्लाको पर्यटन विकासको सम्भावनालाई उजागर गर्ने अपेक्षा गरिएको थियो ।

आयोजक कैलाली जिल्ला समन्वय समितिले एकदमै उत्साहका साथ तयारी थालेको थियो । तर नेकपाका सुदूरपश्चिम ईन्चार्ज भीमबहादुर रावल र नेकपा केन्द्रीय सदस्य झपटबहादुर रावलले कार्यक्रम बहिस्कार गर्ने हौवा पिटेपछि ज्याम्बोरीको आयोजना अनिश्चित भएको छ ।
स्रोतले भन्यो, ‘रावलद्वयले आफू निकट स्थानीय निकाय प्रमुख र कार्यकर्ताहरूलाई र्याफ्टिङ ज्याम्बोरी कार्यक्रममा सहयोग नगर्न उर्दी जारी गरेपछि २०७५ चैत २ गतेको कार्यक्रम स्थगित भएको छ । साँघु साप्ताहिकमा समाचार छापिएको छ ।

सुदूरपश्चिम प्रदेशको तत्कालीन एमालेमा रावलद्वयको एकलौटी बर्चस्व थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता कर्णबहादुर थापा सुदूरपश्चिम नेकपाको अध्यक्ष बनाइएपछि रावल द्वयले एकीकरणपछिका कार्यक्रममा अवरोध गर्दै आएको नेकपा सुदूरपश्चिमका नेताहरू बताउँछन् ।

रावलद्वय वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छन् । तत्कालीन सुदूरपश्चिम एमालेमा सिन्डिकेट चलाउँदै आएका रावल पार्टी एकीकरण पछिको नेकपामा कमजोर देखिदै आएको प्रदेशका नेता तथा कार्यकर्ताहरूको बुझाई छ ।

एकीकरणपछि भीमबहादुर रावल हतास देखिँदै आएको रावल निकट एक जना प्रदेश नेताले बताए । उनले भने, ‘कुनैबेला भीमबहादुर रावल भनेपछि पार्टी कमिटीका बैठक र छलफलहरुमा उत्साह र उमंगको वातावरण हुन्थ्यो तर आजभोलि रावलका प्रस्तुतीहरू पट्यारलाग्दा हुन्छन् । उनी जे कुरामा पनि विरोध मात्रै गर्छन् ।’

नेकपा सुदूरपश्चिम प्रदेशका ईन्चार्ज समेत रेहका भीमबहादुर रावलले चैत २ मा आयोजना गरिएको र्याफ्टिङ ज्याम्बोरी मात्र होइन, २०७५ माघ २० गते नेकपाका दुबै अध्यक्ष र महासचिवले सम्बोधन गर्ने प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई समेत रावल र उनका समर्थकले बिथोलेका थिए । पछि गएर लामो वहस र छलफलपछि कार्यक्रम २०७५ फागुन ८ गते आयोजना गरिएको थियो ।

२०७५ माघ २० गतेको कार्यक्रम बिथोलिनुका पछाडि त्यस्तो ठूलो कारण पनि खासै थिएन । कार्यक्रमको तयारी समितिको गठनका लागि प्रदेश अध्यक्ष कर्ण थापाले माघ १२ गते धनगढीमा अनौपचारिक बैठक बोलाउदा भीमबहादुर रावलले ‘मलाई नसोधेर किन बैठक बोलाएको’ भनि विवाद गरेको स्रोतको भनाई छ । त्यो विवाद पार्टीको तल्लो तहसम्म पुगेको थियो । प्रदेश अध्यक्ष कार्यकारी अधिकारप्राप्त हुने नेकपाको विधानमा प्रावधान छ ।

अहिले पनि त्यस्तै भएको छ । निर्वाचनताका सुदूरपश्चिम एमालेका एक्ला कमाण्डर भएकाले रावलले आफू निकटलाई टिकट बाँडेकाले प्रदेशका सांसद, मन्त्री र स्थानीय निकायका प्रमुखमा रावल निकट जनप्रतिनिधिहरुको संख्या बढी छ । र्याफ्टिङ ज्याम्बोरीमा कुनै पनि सहयोग नगर्न नेता भीम र झपटले आफू निकट जनप्रतिनिधिहरूलाई निर्देशन दिएको कैलाली जिससका एक जना सदस्यको भनाई छ ।

प्रदेश अध्यक्षमा कर्णबहादुर थापा आएपछि सुदूरपश्चिम प्रदेशमा भीमबहादुर रावलको पल्ला खस्किंदै गएको कतिपयको विश्लेषण छ । त्यही कारणले गर्दा उनी र उनका समर्थकहरू आजभोलि आफ्नै पार्टीका नेता कार्यकर्ताको विरुद्धमा अनेक खुराफात गरेर रमाउने गरेको सुदूरपश्चिम प्रदेशका अधिकांश नेता कार्यकर्ताहरू गुनासो गर्छन् ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.