Sagun Khabar
बैतडीमा गौराको उल्लास झल्कने 'किरपी' खेलको मौलिक वैभव

बैतडी - बैतडी सहित सुदूरपश्चिमको सांस्कृतिक जीवनरेखा मानिने गौरा पर्वको रौनक देशभर छाइरहँदा बैतडीमा भने एउटा छुट्टै र दुर्लभ मौलिक परम्पराले सबैको ध्यान खिच्ने गर्दछ । दुई जोडी पुरुषको हातमा खेलाइने रुमाललाई ढाल र लठ्ठीलाई तरबारको रुपमा लिने गरिन्छ । लट्ठीको चाल र रुमालको आत्मरक्षात्मक घेराले परम्परागत ढाल-तलवारको युद्ध-कौशललाई प्रतिविम्बित गर्ने गर्दछ ।

बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ स्थित प्रसिद्ध भूमिराज देवताको खला टिल्लेकमा गौरा विशेष जात्रासँगै आयोजना हुने प्राचीन किरपी खेलले स्थानीय संस्कृति, सद्भाव र पुर्खाको विरासतलाई जीवन्त राखिरहेको छ। गौरा पर्वको भोलिपल्ट भूमिराजको द्वारमा लाग्ने ठूलो जात्रामा किरपी खेलिने प्राचीन परम्परा रहेको स्थानीय संस्कृतिका जानकार हरिलाल पन्तले बताए ।

बैतडी जिल्लाको साविकको गुजर गाविस, हाल पाटन नगरपालिका वडा नम्बर ३ मा परापूर्वकालदेखि बसोबास गर्दै आएका भट्ट, पन्त, अवस्थी र विष्ट परिवारको संयुक्त आयोजना र सहभागितामा हुने टिल्लेक जात्रामा किरिपी खेल खेल्ने गरिन्छ । सद्भाव र वीरताको प्रतिक मानिने किरपी नेपाली पोशाक, हातमा लट्ठी तथा परम्परागत ध्वजासहित मैदानमा उतारिने किरपी खेल हेर्न स्थानीय गाउँलेका साथै छिमेकी वडा र जिल्लाका विभिन्न गाउँहरूबाट हजारौँ श्रद्धालुको घुइँचो लाग्ने भुमिराज देवताका धामी कमल सिंह बिष्टले बताए ।

गौराको भक्तिमय वातावरणमा पञ्चैबाजाको ताल, देउडा र धुमारीका घन्कासँगै भूमिराज देवताको थानमा जब किरपी प्रस्तुत गरिन्छ, तब सिङ्गो टिल्लेक क्षेत्र उत्सवमय बन्ने गर्दछ । स्थानीय संस्कृतिका जानकार विष्णु पन्तका अनुसार किरपी खेल केवल एउटा मनोरञ्जन मात्र नभएर परापूर्वकालदेखिको भाइचारा, एकता र सांस्कृतिक निरन्तरताको प्रतिक मानिने बताइन्छ । स्थानीय भाषामा चौरठ्ठे खाला भनिने टिल्लेक जात्रा चारै थरका परिवारहरूले संयुक्त रूपमा वर्षौँदेखि संरक्षण र सञ्चालन गर्दै आएका छन् । स्थानीय समुदाय र सांस्कृतिक क्षेत्रका अगुवाहरूले सुदुरपश्चिमको दुर्लभ मौलिक खेल परम्पराको दस्तावेजीकरणको रुपमा मान्ने गरिन्छ ।

सुदूरपश्चिममा गौराको मुख्य पूजा सकिएपछि विभिन्न मन्दिरमा जात्रा लाग्ने गर्दछन । टिल्लेकमा लाग्ने यो जात्रालाई स्थानीय भाषामा टिल्लेकको जात भनिन्छ, जहाँ किरपी नखेलिएसम्म जात्राको विधि पूरा भएको मानिँदैन । यो संगै टिल्लेक जात्रामा धामी कापेर चौला जाने परम्परा संगै सिउडी खाने प्रचन समेत रहि आएको छ । चार थरको संयुक्त छत (गुठ) भएकाले यो क्षेत्रलाई गुजर भन्ने गरिन्छ ।

गाैरा पर्वकाे भाेलिपल्ट संयुक्त रूपमा यहाँ जात्राकाे आयाेजना गरि भूमिराज देवतालाई इच्छाअनुसार स्थानीयबासीले नेजा, ध्वजा, घण्ट तथा निशानी वस्तु चढाउने गर्छन् । भूमिराज देवतालाई बुङडाका बिष्ट र गुजरका भट्ट परिवारकि बज्यैले स्याउला साेर्ने बेला रगत बगेपछी स्थानीयबासीले हेर्दा बिराट शिलामा देवता प्रकट भएको किवदन्ती रहेकाे छ ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update