Sagun Khabar
बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा मैतड जात आजबाट सुरुः भोलि बलिसहित मुख्य जात्रा हुने

बैतडी–बैतडीको पाटन नगरपालिका–६ स्थित प्रसिद्ध श्री उदयदेव मन्दिरमा ‘मैतड जात’ भनेर चिनिने वार्षिक जात्रा आज (कात्तिक १ गते) देखि सुरु भएको छ ।

यस वर्ष तिथि घटबढका कारण केही द्विविधा देखिए पनि उदयदेव मन्दिरमा आज महाष्टमीको विशेष पूजाआजा भइरहेको र भोलि कात्तिक २ गते महानवमीका अवसरमा राँगाको बलिसहित मुख्य जात्रा सञ्चालन हुने मन्दिरका सहायक पुजारी लवदेव जोशीले जानकारी दिनुभयो ।

तिथि गणनाको हिसाबले आज कात्तिक १ गते महाष्टमी र भोलि २ गते महानवमी मानिने भएकाले सोही अनुसार धार्मिक विधिपूर्वक पूजाआजा तथा जात्रा आयोजना गरिएको पुजारी जोशीको भनाइ छ । उदयदेव मन्दिरमा हरेक वर्ष महाष्टमी र महानवमीको अवसरमा ठूलो मेला तथा जात्रा लाग्ने गर्दछ ।

जात्रालाई भव्य, सभ्य र अनुशासित वातावरणमा सम्पन्न गर्नका लागि जात्रा हुने क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । सिद्धनाथ उदयदेव धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष चमनकुमार भण्डारीका अनुसार जात्रालाई व्यवस्थित बनाउन समितिका तर्फबाट सम्पूर्ण शान्ति सुरक्षा तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ ।

उदयदेव मन्दिरको दर्शन तथा जात्रा अवलोकनका लागि बैतडीका विभिन्न स्थानका साथै छिमेकी जिल्ला र भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरू आउने क्रम सुरु भइसकेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  ०७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update