बैतडी-बिहीबार राति जन्ती बोकेको बस उकालो चढ्दै थियो । बसभित्र गीत थियो, हाँसो थियो, बिहेको उत्साह थियो । केही मिनेटमै त्यो उत्साह १५० मिटर तल खस्यो ।
बैतडीको पुर्चौंडी नगरपालिका–७ बडगाउँको मोडमा १३ जनाको ज्यान गयो । यो १३ वटा ज्यान मात्रै नभइ १३ घरको उज्यालो निभेको हो । १४ वर्षको किशोरदेखि ६० वर्षका वृद्धसम्म, सहोदर दाजुभाइ, बुवा–छोरा, भतिज, छोरी ज्वाइँ—एकै गाउँ, एउटै जन्ती, एउटै बस । हामीले यसलाई सजिलै “दुर्घटना” भन्यौँ । तर के यो साँच्चै दुर्घटना मात्रै हो ?
पुर्चौंडीको त्यो उकालो नयाँ होइन । सडक साँघुरो छ, मोड खतरनाक छ, सुरक्षा बार छैन यो कुरा स्थानीयले वर्षौंदेखि देख्दै आएका छन् । जोखिम थियो तर यात्रा रोकिएन,नियम थियो तर कागजमै ।
पवनदूत यातायातको बस अत्यधिक भारका कारण खसेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । चालकले मादक पदार्थ सेवन गरेको आशंका पनि सार्वजनिक भएको छ, यद्यपि अनुसन्धान जारी छ । तर यहाँ प्रश्न चालकमा मात्र सीमित हुँदैन । जोखिम थाहा हुँदाहुँदै सवारी सञ्चालन किन रोकिएन ?
दुर्घटना भएपछि मात्र कारण खोज्नु हाम्रो पुरानो बानी हो । दुर्घटनापछि नेता पुगे कोट लगाए, समवेदना व्यक्त गरे, फोटो खिचाए । पीडित परिवारसँग बसेर दुःख बाँडे ।
तर दुर्घटनाअघि त्यही सडकमा पुगेर “यहाँ बस चल्न मिल्दैन” भन्ने आँट कसैले किन गरेनन् । यो सडक पुर्चौंडी नगरपालिकाकै स्वामित्वमा छ । नगरपालिका स्वयंले स्वीकार्छ सडक साँघुरो छ, सुधार गर्न ठाउँ अभाव छ । तर जोखिम थाहा हुँदाहुँदै सवारी सञ्चालन हुनु भनेको लापरवाहीको स्वीकारोक्ति हो ।
बैतडीका जनताले पटक–पटक यही माटोका नेताहरूलाई जिताए । कहिले मन्त्री, कहिले प्रधानमन्त्रीसम्म पु¥याए । तर जनताको पीडा भने सधैं उकालोमै अड्किरह्यो ।
यो प्रश्न नेतामाथि मात्रै होइन जनतामाथि पनि हो । हामी भोट हाल्छौँ तर सडक, स्वास्थ्य, यातायातबारे प्रश्न उठाउँदैनौँ । उही व्यक्ति, उही वाचा, उही भाषण फेरि स्वीकार्छौँ । जन्ती बोकेको बसमा क्षमताभन्दा बढी मान्छे चढ्दा कसैले “नचलाऔँ” नचढौँ” भनेन किन यहाँ सबै स्वार्थी छन् । जोखिम देख्दा पनि यस्तै हो भनेर चुप किन लाग्यौँ ? त्यसैले भन्नैपर्छ यो दुर्घटनामा केवल राज्य दोषी छैन हाम्रो मौनतामा पनि यसको हिस्सा छ ।
दुर्घटनापछि पत्रकारिता जाग्यो मृतकको संख्या बढ्दै गयो, हेडलाइन फेरिँदै गयो । तस्बिर आए, बयान आए । तर दुर्घटनाअघि यो सडकबारे चेतावनी दिने रिपोर्ट कहाँ थिए ? जोखिमपूर्ण सडक, नियमनविहीन सवारी, कमजोर उद्धार प्रणाली यी विषयमा नियमित रिपोर्टिङ किन भएन ? कार्यक्रम र भत्तामा दौडिने पत्रकारिता जोखिमपूर्ण मोडमा पुगेर रिपोर्ट गर्न किन हिच्किचाउँछ ?
उद्धारको तस्वीर झनै पीडादायी छ घाइते बोकेर एउटामात्र एम्बुलेन्स,स्कुल बस र जिप दौडाइयो । डडेल्धुरा अस्पतालमा उपचारका क्रममा थप पाँच जनाको मृत्यु भयो । यदि समयमै, पर्याप्त साधनसहित उद्धार भएको भए के सबै ज्यान जान्थे ? यो प्रश्नको उत्तर सजिलो छैन तर प्रश्न उठाउनु अपराध पनि होइन ।
ट्राफिक नियम छन् तर कार्यान्वयन औपचारिकतामा मात्रै सीमित छ । सवारी जाँच कागजमा हुन्छ, सडकमा होइन । जब दुर्घटना हुन्छ, तब मात्र सबै सक्रिय हुन्छन् । नियमन कमजोर हुँदा दुर्घटना संयोग होइन, निश्चितता बन्छ ।
अब फेरि समवेदना आउनेछ छानबिन समिति बन्नेछ केही दिनपछि खबर हराउनेछ । तर प्रश्न बाँकी रहनेछ कति जनाको ज्यान गएपछि सडक सुरक्षित बन्छ ? कति परिवार रोएपछि नियमन साँच्चिकै कडा हुन्छ ?
ठेकेदारको श्रद्धाञ्जली, नेताको समवेदना, सरकारी विज्ञप्ति यी अब पर्याप्त छैनन् । अब जवाफदेहिता चाहिन्छ,सुरक्षित सडक चाहिन्छ,कडा सवारी नियमन चाहिन्छ, छिटो र प्रभावकारी उद्धार प्रणाली चाहिन्छ ।
यदि हामीले यसलाई फेरि “दुर्घटना” भनेरै छोड्यौँ भने भोलि अर्को उकालोमा, फेरि अर्को मोडमा, फेरि अर्को बस खस्नेछ । र हामी फेरि उही शब्द लेख्नेछौँ दुर्घटना ।


