Sagun Khabar
भावी प्रधानमन्त्री बालेनलाई खुला पत्र

प्रिय बालेन शाहज्यू,सादर नमस्कार।

म एक नेपाली श्रमिक तथा नागरिक हुँ। मैले २०७९ सालदेखि विभिन्न NGO हरूमा काम गर्दै आफ्नो मेहनतको कमाइबाट सामाजिक सुरक्षा कोषमा नियमित रूपमा रकम जम्मा गर्दै आएको थिएँ। तर हाल कामविहीन अवस्थामा पुग्दा पनि सामाजिक सुरक्षा कोषमा जम्मा भएको मेरो आफ्नै रकम फिर्ता पाउन सकेको छैन् । 

हामीले बुझ्न नसकेको कुरा के हो भने २०७८ सालभन्दा अघि कोषमा आबद्ध भएका श्रमिकहरूको मात्र रकम फिर्ता हुने व्यवस्था गरिएको रहेछ । यदि वास्तवमै यस्तो व्यवस्था हो भने २०७९ सालपछि कोषमा आबद्ध भएका हामी श्रमिकहरू के यो देशका नागरिक होइनौं ? के हाम्रो श्रम, पसिना र योगदानको कुनै मूल्य छैन ?

सामाजिक सुरक्षा कोष श्रमिकहरूको सुरक्षा र भविष्यका लागि स्थापना गरिएको व्यवस्था हो । तर अहिले यही कोषले श्रमिकहरूलाई अन्याय र निराशा मात्र दिएको महसुस भइरहेको छ । आफ्नो आवश्यकता परेको बेला आफ्नै पसिनाको कमाइ फिर्ता पाउन नसक्नु कुनै पनि श्रमिकका लागि अत्यन्त पीडादायी विषय हो । 

त्यसैले, यस विषयमा सम्बन्धित निकायसँग समन्वय गरी सबै श्रमिकहरूलाई समान अधिकार दिलाउने तथा सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम आवश्यक अवस्थामा फिर्ता पाउने स्पष्ट र न्यायपूर्ण व्यवस्था गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । 

हामी श्रमिकहरू राज्यबाट विशेष सुविधा होइन, केवल न्याय र समान अधिकार मात्र चाहन्छौं । 

आशा छ, तपाईंले श्रमिकहरूको आवाजलाई गम्भीरतापूर्वक सुनी यस विषयमा आवश्यक पहल गर्नुहुने छ।

धन्यवाद ।

भवदीय एक श्रमिक नेपाली नागरिक
दिनेशप्रसाद जोशी 
बैतडी 

 

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update