Sagun Khabar
‘बरफ झैँ पग्लिँदै ठूला दल’: जनआक्रोशको राप कि आफ्नै कर्मको पाप ?

 नेपालको राजनीति यतिबेला एउटा गम्भीर मोडमा उभिएको छ। दशकौंसम्म नेपाली जनताको आशा र भरोसाको केन्द्र बनेका स्थापित ठूला दलहरू—नेपाली कांग्रेस, एमाले र माओवादी—आज अस्तित्व रक्षा र साख जोगाउने धौधौमा छन्। हिजोका ’क्रान्तिकारी’ र ’लोकतान्त्रिक’ मसिहाहरू आज किन जनताको नजरमा ‘विलेन’ बन्दैछन् ? यो प्रश्नको उत्तर कुनै बाह्य शक्तिमा होइन, उनीहरूकै भित्री संरचना र व्यवहारमा लुकेको छ ।

१. वैचारिक शून्यता र सत्ता–केन्द्रित राजनीति

ठूला दलहरूको सबैभन्दा ठूलो ‘बिजोग’ को कारण उनीहरूमा देखिएको वैचारिक विचलन हो। हिजो एउटा स्पष्ट सिद्धान्त र उद्देश्यका लागि लडेका दलहरू आज मात्र ‘सत्ताका लागि समीकरण’ बनाउने मेसिनमा परिणत भएका छन् । बिहान एउटा विचारसँग ‘गठबन्धन’ गर्ने र बेलुका अर्कै स्वार्थसँग ’सहमति’ गर्ने प्रवृत्तिले गर्दा कार्यकर्ता र जनतामा भ्रम पैदा भएको छ। सिद्धान्तको राजनीति मरेर स्वार्थको राजनीति मौलाउनु नै उनीहरूको अधोगतिको पहिलो खुड्किलो हो । 

२. ‘सिन्डिकेट’ र आन्तरिक लोकतन्त्रको अभाव

दलहरूभित्र ‘पार्टी अध्यक्ष’ वा ‘सभापति’ मात्र होइन, एउटा सानो गिरोहको कब्जा छ । नयाँ विचार भएका, ऊर्जावान् र क्षमतावान् युवाहरूलाई नेतृत्वमा आउन नदिने ‘घेराबन्दी’ (Syndicate) ले गर्दा दलहरू बूढो र जड भएका छन् । जबसम्म एउटै अनुहार दशकौंसम्म पदमा टाँसिइरहन्छ, तबसम्म संस्थामा नयाँ प्राण सञ्चार हुन सक्दैन् । यो ‘नेतृत्वको जाम’ ले गर्दा पार्टीका इमानदार कार्यकर्ताहरूमा नैराश्यता छाएको छ ।

३. डेलिभरीमा फेल, भ्रष्टाचारमा पास

जनताले व्यवस्था बदले, तर अवस्था बदलिएन् । शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत आवश्यकतामा दलहरूले कुनै ठोस काम गर्न सकेनन् । बरु, ठूला भ्रष्टाचारका काण्डहरूमा ठूलै नेताहरूको नाम मुछिनुले दलहरूको नैतिक धरातल ध्वस्त पारेको छ । “भोट हामीलाई, लाभ बिचौलियालाई“ भन्ने आम बुझाइले गर्दा जनताले विकल्प खोज्न थालेका छन्, जसको परिणाम गत चुनावहरूमा देखिएको ’स्वतन्त्र’ र ’नयाँ दल’ प्रतिको आकर्षण हो । 

४. नातावाद र विरासतको मोह

राजनीतिलाई सेवाभन्दा पनि ‘पारिवारिक पेसा’ बनाउने धुनले ठूला दलहरूलाई खोक्रो बनाउँदैछ । आफ्ना नातागोता, खल्तीका मान्छे र चन्दादातालाई टिकट र नियुक्ति वितरण गर्ने प्रवृत्तिले गर्दा क्षमतावान् मान्छेहरू पाखा लागेका छन् । यसले दलहरूलाई एउटा जीवन्त संस्थाबाट ‘प्राइभेट लिमिटेड कम्पनी’ मा झारिदिएको छ ।

५. समयको पदचाप बुझ्न असमर्थता

आजको युवा पुस्ता ‘सूचना प्रविधि’ र ‘ग्लोबल न्यारेटिभ’ सँग जोडिएको छ । उनीहरूलाई २०४६ वा २०६२÷६३ को आन्दोलनको कथा सुनाएर मात्र पुग्दैन, उनीहरूलाई त आजको ’डेलिभरी’ र भोलिको ’भिजन’ चाहिएको छ । पुराना दलहरू अझै पनि हिजोको इतिहास बेचेर आजको राजनीति गर्न खोज्दैछन्, जुन सम्भव छैन् । 
निष्कर्ष

ठूला दलहरूको यो बिजोग कुनै आकस्मिक घटना होइन, यो वर्षौंदेखिको गल्तीहरूको सञ्चित परिणाम हो। यदि अझै पनि उनीहरूले ‘कोर्स करेक्सन’ (Course Correction) गरेनन्, आफूलाई रूपान्तरण गरेनन् र नयाँ पुस्ताको भावनालाई सम्बोधन गरेनन् भने इतिहासको गर्तमा बिलाउन धेरै समय लाग्ने छैन् । लोकतन्त्रमा दलहरूको विकल्प ‘सुध्रिएका दलहरू’ नै हुन्, तर सुध्रिने इच्छाशक्ति उनीहरूमा देखिएको छैन ।

लेखक –रमेशकान्त बडू 
दशरथचन्द नगरपालिका–१, बैतडी 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update