Sagun Khabar
रनिङ शिल्डमा सहभागी खेलाडीहरुलाई दनपाले नगदसहित सम्मान गर्यो 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाको तर्फबाट प्रतियोगितामा सहभागी खेलाडीहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरेर नगदसहित सम्मान गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए । 

प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही नगद ६ हजार ६ सय ६७ रुपैयाँ, रजत पदक विजेता खेलाडीहरुलाई जनही नगद ३ हजार ३ सय ३३ रुपैयाँ र कास्य पदक विजेता खेलाडीहरुलाई जनही २ हजार ६ सय ५७ रुपैयाँ पुरस्कार प्रदान गरिएको अध्यक्ष चन्दले बताए । 

Atrya hospital

यस्तै प्रतियोगितामा सहभागी भएका अन्य खेलाडीहरुलाई पनि १ हजार ३ सय ३३का दरले पुरस्कार उपलब्ध गराइएको छ । मेलौलीमा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दशरथचन्द नगरपालिकाबाट विभिन्न विधामा ७० जना खेलाडी सहभागी भएका थिए । 

प्रतियोगितामा नगरपालिकाले २ स्वर्ण, १३ रजत र १२ कास्य गरेर २७ पदक हात पारेको थियो । खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्दै नगर प्रमुख पुष्करराज जोशीले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताए । 

खेलाडीहरुलाई नगद पुरस्कार प्रदान तथा सम्मान कार्यक्रममा नगर प्रमुख जोशीका साथै प्रमुख प्रशासकीय अधिकृत जगदीश जोशी, वडा अध्यक्ष, नगर खेलकुद विकास समितिका अध्यक्ष र खेलाडीहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update