Sagun Khabar
बैतडीमा दशरथचन्द नगरपालिकाको बजेट बहुमतले पारित 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट बहुमतले पारित भएको छ । बुधबार सम्पन्न दोश्रो नगर बैठकबाट आगामी आर्थिक बर्षको बजेट बहुमतले पारित गरेको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । 

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगर बैठक बहिष्कार गरेपछि सभाको बहुमतले बजेट पारित गरेको उनले बताए । 

नगरपालिकाले आगामी आर्थिक बर्षका लागि संघीय सरकारको अनुदान सहित ७९ करोड ६० लाख ७९ हजार बराबरको बजेट ल्याएको छ । बजेटमा नगरपालिकाको बढी क्षेत्रफल भएका वडाहरुलाई २५ लाख र कम क्षेत्रफल भएका वडाहरुलाई २० लाखका दरले रकम विनियोजन गरेको उल्लेख गरिएको छ । यसरी दशरथचन्द नगरपालिकाको वडा नं १, २,४, ६ र ९ ले २५ लाखका दरले बजेट पाउनेछन् भने वडा नं ३, ५, ७, ८, १० र ११ ले २० लाखका दरले बजेट पाउनेछन् । 

Atrya hospital

यस्तै प्रत्येक वडामा १० लाख बराबरको वडा गौरवको योजना सञ्चालन गर्ने, वडाहरुलाई ५ लाखका दरले समपूरक अनुदान दिने, नगर बस सञ्चालनमा ल्याउने र सतबाँझमा नगर प्रवेशद्वार निर्माणका लागि बजेट विनियोजन गरेको वडा अध्यक्ष बोहराले बताए । 

यस्तै जगन्नाथ बहुमुखी क्याम्पसको हाताभित्र खेलमैदान निर्माण गर्ने, सरसफाइकर्मीहरुलाई तालिम दिने, शव वाहन खरीद गर्ने लगायतका शीर्षकमा समेत बजेट विनियोजन भएको छ । 

यस्तै योजना शाखामा योजनाहरु समावेश नगरेका वडाहरुलाई यही असार २४ गते सम्म योजना पेश गर्न भनिएको र सो समयमा योजना पेश नभएमा नगरपालिकाले आँफै योजना पेश गर्ने वडा अध्यक्ष बोहराले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update