Sagun Khabar
माओवादी केन्द्र त्यागेर एमाले रोजेका १४ जनप्रतिनिधि  पदमुक्त

काठमाण्डौ – निर्वाचन आयोगले माओवादी केन्द्रले कारबाही गरेका पालिकाका १४ जनप्रतिनिधिको पद रिक्त गरेको छ ।

२०७४ सालको पालिकाको चुनावमा माओवादी केन्द्रको तर्फबाट उमेद्वार भएर विजयी भएका तर दल त्याग गरेका उनीहरुलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो । आयोगले विज्ञप्ति निकालेर माओवादी केन्द्र छाडेर एमालेमा गएका दुई मेयर र पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी गराएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

आयोगका अनुसार रौतहटको मैलापुर नगरपालिकाका मेयर रिना कुमारी शाह र कटहरीया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह पदमुक्त भएका हुन् । यस्तै महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुकलाई पनि आयोगले पदमुक्त गरिदिएको छ । यस्तै रौतहटको देवाही गुनाही नगरपालिकाका उपमेयर परनिया देवी, मैलापुर नगरपालिकाका उपमेयर गौरिशंकरप्रसाद, फतुवाविजयपुर नगरपालिकाका उपमेयर कान्ति देवी, माधवनारायण नगरपालिकाका उपमेयर सिमल कुमारी शाह, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष श्रीमती गीतादेवी साह र कैलालीको भजनी नगरपालिकाका उपमेयर छायाँदेवी देवकोटा पदमुक्त भएका छन् ।

यसैबीच, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ का वडा अध्यक्ष सुरेश कुमार थापा, कैलालीको गौरीगंगा नगरपालिका ४ का वडा अध्यक्ष भागरथी विष्ट, गोदावरी नगरपालिका १ का शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका ४ का वडा अध्यक्ष पुरन सिंह वि।सी। पनि पदमुक्त भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update