
पाकिस्तानसँग युद्धविराम घोषणाको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो बेलुका राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
उनले पाकिस्तानले आतङ्कवादलाई प्रश्रय दिएको आरोप लगाएका छन् । आणविक हतियारको नाममा भइरहेको ब्ल्याकमेल सहन नसकिने उनको चेतावनी छ ।
आफूहरूले गरेको जवाफी कारबाहीमा एक सय जनाभन्दा धेरै आतङ्ककारी मारिएका भारतीय प्रधानमन्त्री मोदीको दाबी छ । साथै उनले पाकिस्तानको अनुरोधमा भारत युद्ध रोक्न सहमत भएको पनि दाबी गरे ।
पाकिस्तानविरुद्धको सैन्य कारबाही स्थगित गरिएको तर अवस्था हेरेर फेरि थप कारबाहीको निर्णयमा पुग्न सक्ने भारतीय पक्षले चेतावनी दिएको छ ।
मोदीले बुद्ध पूर्णिमाको समेत स्मरण गर्दै मानवता र शान्ति नै समृद्धिको यात्रा रहेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जम्मू–कश्मीरको पहलगाममा अप्रिल २२ तारिखमा भएको आतङ्कवादी आक्रमणको १५ दिनपछि भारतले अपरेशन सिन्दूर नामक सैन्य कारबाही थालेको थियो । तर गएको शनिवार दुई देश युद्धविरामका लागि सहमत भएसँगै जनजीवन सामान्य बन्दै गएको छ । बन्द विमानस्थलहरू खुलेका छन् ।