Sagun Khabar
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी हट्नुपर्ने माग

इरानले फेरि ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग बन्द गरेको छ । अमेरिकाले आफ्ना बन्दरगाहहरूमा निरन्तर नाकाबन्दी गरेको भन्दै इरानले हर्मुज बन्द गरेको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इरानले हर्मुज खुला गरेको २४ घण्टा नबित्दै फेरि बन्द गरेको हो । अमेरिकी नाकाबन्दी हटाएपछि मात्र हर्मुज पुनः खोल्ने इरानी सेनाले बताएको छ ।

यसअघि हिजो इरानका विदेशमन्त्रीले युद्धविरामको बाँकी अवधिमा हर्मुज व्यावसायिक जहाजहरूका लागि पूर्णरूपमा खुला हुने बताएका थिए । तर त्यसको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम रहने घोषणा गरेका थिए । 

अमेरिका र इरानबीच भएको युद्धविराम आउँदो बुधवार अप्रिल २२ मा समाप्त हुँदैछ । गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेदेखि महत्त्वपूर्ण जलमार्ग हर्मुज प्रभावित हुँदै आएको छ । 

यसैबीच इरानले आफ्नो हवाई क्षेत्र र केही विमानस्थलहरू आजदेखि आंशिक रूपमा पुनः खोलेको बताएको छ । इरानको पूर्वी क्षेत्रको हवाई क्षेत्र, केही विमानस्थल र हवाई मार्गहरू अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला भएको इरानी नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

देशको सैन्य र नागरिक अधिकारीहरूले प्राविधिक र परिचालन तयारी पूरा गरेपछि इरानी विमानस्थलहरूमा उडान सञ्चालन बिस्तारै सामान्य हुने बताएका छन् । अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update