Sagun Khabar
भारतको पश्चिम बङ्गालमा पहिलो पटक भाजपा सरकार बन्यो

भारतको पश्चिम बङ्गालमा शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिएका छन् ।  कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा आयोजित समारोहमा पश्चिम बङ्गालका राज्यपाल आर.एन रविले उनलाई शपथ गराएका हुन् । अरू पाँच जना मन्त्रीहरुले पनि सपथ लिएका छन् ।

पश्चिम बङ्गालमा भाजपाले स्थापनाको ४६ वर्षपछि पहिलो पटक सरकार बनाएको हो । यसअघि पश्चिम बङ्गगालमा तृणमूल कंग्रेसले वामपन्थी दलको सत्ता ढालेर १५ वर्ष सरकार चलाएको थियो । कुल २ सय ९४ सिट रहेको पश्चिम बङ्गाल  विधानसभामा यसपालि भाजपाले २ सय ७ सीट जित्दै दुई तिहाई शक्तिका साथ सरकार बनाएको छ ।

ममता बनर्जीको तृणमूल कंग्रेस (टीएमसी)ले ८० सिट मात्रै जितेको छ । बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन नमानेपछि राज्यपालले विधानसभा भङ्ग गरेर नयाँ सरकार गठनको बाटो खुलाएका हुन् । 

यस अघि ममता बनर्जीका निकट सहयोगी रहेका शुभेन्दु अधिकारी सन् २०२१ अघि मात्रै भाजपा प्रवेश गरेका हुन् । यसपटक ममता बनर्जीलाई नै पराजित गरेपछि उनको राजनीतिक हैसियत थप बलियो भएको छ ।

ऐतिहासिक जीतपछि मुख्यमन्त्री नियुक्त र्भका अधिकारीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भएका थिए । हिजो मात्रै गृहमन्त्री अमित शाहको उपस्थितिमा बसेको भाजपा विधायक दलको बैठकले अधिकारीलाई दल नेता चयन गरेको थियो ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update