Sagun Khabar
दार्चुला घटनाका बिषयमा नेपालले भारतलाई औपचारिक कुटनीतिक पत्र पठायो, दोषीलाई कारवाही गर्न माग

काठमाण्डौ – चौतर्फी दबाब बढेपछि अन्तत नेपालले दार्चुला घटनाका विषयमा भारतलाई औपचारिक कुटनीतिक पत्र पठाएर ध्यानाकर्षण गराएको छ । गृह मन्त्रालयको छानबिनका आधारमा परराष्ट्र मन्त्रालयले भारतलाई कुटनीतिक पत्र पठाएको हो ।

पत्रमा घटनामा संलग्न भारतीय सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन र महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीका परिवारलाई उचित राहत दिन भनिएको छ । गएको साउन १५ गते महाकाली नदीको तुइनमा नेपालबाट भारततर्फ जाँदै गर्दा दार्चुलाका जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले साउन १७ गते समिति बनाएको थियो । छानबिनका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को घटनामा संलग्नता भएको प्रत्यक्षदर्शीले बताएका थिए ।  तर, छानबिन प्रतिवेदन आइसकेपछि पनि भारतसमक्ष औपचारिक रुपमा पत्र पठाउन आनाकानी भइरहेको थियो ।

यस्तै, नेपालले दार्चुला क्षेत्रको नेपाली आकाशमा अनुमति नलिकन हेलिकोप्टर उडाएको विषयमा पनि भारतलाई पत्र पठाएको छ । विना अनुमति नेपाली आकाशमा हेलिकप्टर उडाएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि दोहोरिन नदिन पत्रमार्फत भारतको ध्यानाकर्षण गराइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update