अछाम –नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले च्याम्पियन ट्रफीसहित सुदूरपश्चिमका नौवटै जिल्लाको यात्रा शुरु गरेको छ । उपाधि जितेपछि समर्थकसँग खुसी साट्न र प्रदेशभर क्रिकेटको उत्साह फैलाउन रोयल्सले अछामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बैद्यनाथ धामबाट ट्रफी यात्रा शुरु गरेको हो ।
शनिबार बिहान वैद्यनाथ धाममा पूजाआराधना तथा स्वस्तिवाचन गरेपछि ट्रफी यात्राको औपचारिक शुभारम्भ गरिएको रोयल्सले जनाएको छ । उक्त मन्दिरबाट ट्रफीसहित निकालिएको ¥याली साँफेबगरसम्म पुगेको थियो ।
रोयल्सले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अछामबाट शुरु भएको ट्रफी यात्रा आजै बाजुरा पुगेको छ ।
ट्रफी यात्रा मंसिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी, १६ गते दार्चुला र १७ गते बझाङ पुग्ने बताइएको छ । मंसिर १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।
त्यसपछि मंसिर १९ गते कैलाली र कञ्चनपुरमा ट्रफी यात्रा हुनेछ । कैलालीको टीकापुर पार्कबाट शुरु हुने ¥याली चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म पुग्नेछ । त्यसपछि कञ्चनपुरको महेन्द्रनगरदेखि दोधाराचाँदनी पुलसम्म ट्रफीसहित ¥याली निकालिने रोयल्सले जनाएको छ ।
ट्रफी यात्राको अन्तिम दिन मंसिर २० गते धनगढीमा ¥याली तथा सांगीतिक कार्यक्रम आयोजना गरी समापन गरिने रोयल्सले जनाएको छ ।




