Sagun Khabar
आज काग र कुकुर तिहार मनाइँदै 

काठमाण्डौ – तिहार अर्थात यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मनाइँदै छ । 

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मुलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास रहँदै आएको छ । आज बिहान ७ बजेर १४ मिनेटपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ । 

Atrya hospital

यस्तै कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व पनि आजै परेको छ । आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।  काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।​

बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । आज बिहान ७ बजेर १४ मिनेटसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । 

कागलाई विशेषगरी दही भात खुवाइन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update