Sagun Khabar
सल्यान बस दुर्घटना : मृतक १२ जना मध्ये ९ जनाको सनाखत

काठमाण्डौं –सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये ९ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–६ कि ६० वर्षकी दैली चलाउने, बबई गाउँपालिका–५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका–२ कि प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, शारदा नगरपालिका–३ कि ३६ वर्षकी लीला बुढाथोकी रहेका छन्।

त्यस्तै सोही दुर्घटनामा परी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ कि मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका–१० कि ३६ वर्षकी रुपा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

स्वास्थ्य सन्देश
Atrya hospital

सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो। सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो। दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ। घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ। अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले तीब्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ। बस सडकबाट २०० मिटर तल खसेको थियो। तिहार मनाएर शहरतर्फ फर्किँदै गरेकाहरु दुर्घटनामा परेका हुन्।

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update