Sagun Khabar
प्रेम र समर्पणको पर्व ‘सामा-चकेवा’ मिथिलाञ्चलमा सुरु

तराई क्षेत्रमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतिकका रुपमा रहेको सामा-चकेवा पर्वकाे रौनक बढ्दै गएको छ । सामा-चकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायु र सम्पन्नताका लागि कामना गरिने पर्व हो । 

कात्तिक शुक्ल द्वितीया तिथि अर्थात् कात्तिक पूर्णिमाको मध्यराति सम्पन्न हुने यस पर्वका लागि कलात्मक मूर्ति बनाउन माटोको जोहो गर्नुपर्ने भएकाले आजकाे दिनलाई पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो । यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मान्छेलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरातिमा विशेष पूजापाठ गरी पर्वको समापन गर्ने गर्छन् । 

काँचो माटोले बनाइएका मान्छे, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र त्यही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भन्ने गरिएको पकरी १  का प्रमिला यादवले बताउनुभयाे । 

स्वास्थ्य सन्देश
Atrya hospital

ग्रामीण क्षेत्रमा अझै पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केही कमी आएको महसुस गर्न थालिएको छ । 

भविष्य पुराणमा उल्लेख गरिए अनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर वृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरूसँग रमण गर्ने गरेको झुठो कुरा कृष्ण समक्ष लगाइन् । भगवान कृष्ण आवेशमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरूलाई चरा बन्ने श्राप दिनुभयो । 

 

सामाको भाइ साम्बले यसबारे जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिहरूलाई श्रापबाट मुक्त गर्नुभयो । 

भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँघरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ ।

यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । त्यस दिन सिरी सामा, दोश्रो दिन चकेवाका साथै एक पातीमा बसेका सातवटा चरा जसलाई सतभैया भनिन्छ । 

त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखवाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूर्ति  बनाउने गरिएको महादेवा गापाका १ का  समतोलिया सदाले सुनाइन् । .यसका साथै बृन्दावन जङ्गल, झुटो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरूलाई विभिन्न रङले रङग्याइन्छ । 

यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । त्यसै क्रममा आफूलाई चाहिएका सरसामान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्छन् ।

सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् । 

छठको खरना वा परनादेखि मैथिल ललनाहरू माटोको आकृतिहरू बनाइ राति एउटा ढकीमा राखेर दीप बाली घरबाट बाहिर आएर अन्य साथीहरूसँग मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गरिन्छ । 

परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन रहेको सविता यादवको भनाइ रहेको छ । 

चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी आफू चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । 

यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चेकवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावन लगायतका पात्र हुन्छन् । 

सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदीबहिनीले मनोबाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछिन् कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् । ​डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर गीतिसंवाद बोल्छन् । 

कथा तत्व मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखिनै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्मपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ । 

सामाचकेवाको गीतमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अन्तरसम्बन्ध झल्किन्छ ।

 

 

#Ujaalo Online  #

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update