Sagun Khabar
बैतडीमा पुराना कुवा र धारा सुक्दै  

बैतडी – पछिल्लो समयमा बैतडीका विभिन्न स्थानमा रहेका पुराना कुवा र ढुंगेधाराहरु सुक्दै गएका छन् । बाह्रैमास पानी कलकल बग्ने धारा र कुवाहरु सुक्न थालेका स्थानीयहरुले बताएका छन् । खानेपानीको रुपमा प्रयोग हुँदै आएका पुराना कुवा र धाराहरु पछिल्लो समयमा सुक्दै गएका हुन् । कतिपय कुवा र धारामा बर्षातको समयमा मात्रै पानी हुने गरेको छ । 

धारा तथा कुवाहरुको संरक्षणमा ध्यान नजाँदा सुक्दै गएका बताइएको छ । जथभावी डोजरले खनिएका सडकका कारण समेत कतिपय धारा र कुवाहरु मासिएका छन् भने कतिपय ठाउँका धारा र कुवामा पानी सुकेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

बाह्रैमास पानी हुने बैतडीको सुर्नया ६ खर्काधारस्थित गोफलबेला कुवा पूर्ण रुपमा सुकेको स्थानीय केशवी अवस्थीले बताइन् । उनले भनिन् ‘हामी गाउँलेहरुको खानेपानी प्रयोग गर्ने गोफलबेला कुवा थियो । तर पछिल्लो समयमा कुवामा पानी सुकेपछि पानीका लागि अन्यत्रै जानुपर्ने बाध्यता रही आएको छ ।’

पानीे भएको कुवामा गौराको पूजा गर्ने चलन रही आएकोमा कुवामा पानी सुकेपछि अहिले गौराको समयमा समेत अन्य ठाउँबाट पानी बोकेर कुवामा लैजाने र त्यसपछि मात्रै पूजाआजा गर्ने गरिएको उनले बताइन् । 

गोफबेला कुवा मात्रै नभएर सुर्नया ६ कोखेतमा रहेको ढुंगेधारामा समेत पानी सुकेको छ । सो धारामा पानी आउन छोडेको एक दशक बढी भईसकेको छ । बाटोमा रहेको ढुंगे धारामा बटुवाहरुले समेत आउने जाने बेला पानी प्रयोग गर्ने गरेका थिए । तर ढुंगेधारामा पानी आउन छोडेको स्थानीय गणेश अवस्थीले बताए । उनले भने ‘त्यो धारो मेरै नेतृत्वमा निर्माण गरेका थियौं । तर अहिले धारामा पानी आउन छोडेपछि ढुंगेधाराको नामनिसान मेटिएको छ ।’

विभिन्न ठाउँमा रहेका कुवा तथा ढुंगेधारा सुक्दै गएपछि जंगली जनावहरु समेत पानीका लागि भौतारिएर मानव बस्तीमा पुग्ने गरेका छन् । यसले विभिन्न खालका अप्रिय घटना समेत हुने गरेका स्थानीयहरुले बताएका छन् । 

जथाभावी खनिएका सडक,वनजंगल विनाश हुनु लगायतका कारणले पानीका कुवा र धारा सुक्दै गएका छन् । यसले गर्दा स्थानीयहरुलाई खानेपानीको जोहोका लागि निकै मुस्किल पर्ने गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update