Sagun Khabar
नयाँ वर्ष२०७९शुरु, हर्षाेल्लासका साथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाण्डाै - आज विक्रम संवत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।  नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

यस्तै, आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ ।आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहाेरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवम् सङ्कल्प गर्ने गर्दछन्। आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिस्ठान्न भोजन बनाएर खाने चलन छ ।

नयाँ वर्षका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।  नयाँ वर्षको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आउँदाे यात्रा तय गर्न आवश्यक रहेको बताउनुभएको छ । हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा उहाँको जोड छ ।

Atrya hospital

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गएको वर्षको अनुभवलाई शिक्षाका रुपमा लिइ नयाँ वर्षमा नयाँ जोस, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र सुशासनका लागि जुट्न आग्रह गर्नुभएको छ ।

समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु सबैको सर्वेपरि लक्ष्य रहेको भन्दै उहाँले यस साझा लक्ष्यलाई प्राप्त गर्न सबै नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप, भाइचार र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै अघि बढ्नुपर्ने बताउनु भएको छ । नयाँ वर्षका अवसरमा सभामुखलगायत अन्य राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update