Sagun Khabar
म्याग्दीमा पहिरोमा परेर एकै परिवारका पाँच जनाको मृत्यु
फाइल फोटो

म्याग्दी –  म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामेङ गाउँमा गएको पहिरोमा परेर एकै परिवारका पाँच जनाको ज्यान गएको छ । 

आज बिहान गएको पहिरोमा परेर ३६ वर्षीय घामबहादुर विक, ३४ वर्षीया राममाया विक, ७ वर्षीया अस्मी पटेल, १८  वर्षीय नवीन विक र १४ वर्षीय राजन विकको ज्यान गएको हो ।

पहिरोमा परेर ६५ वर्षीय गोठे विक र ६३ वर्षीया गोरी विक गम्भीर घाइते भएका छन् । 

आज बिहान बस्तीमाथिबाट खसेको पहिरोले घामबहादुर विक र गोठे विकको घर बगाएको थियो । पहिरोमा परेका दुई जनाको घटनास्थलमै र अन्य बेपत्ता तीनको शव पुरिएको अवस्थामा भेटिएको हो। 

जिल्ला प्रहरी कार्यालय म्याग्दीले घाइते दुई जनालाई रुम स्वास्थ्यचौकीमा उपचार गरी मौसम अनुकूल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको जानकारी दिएको छ ।

बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयवासी घटनास्थल पुगेका थिए । 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update