Sagun Khabar
कच्ची सडकमा मनोमानी भाडा, सरोकारवाला निकाय बेखबर 
फाइल फोटो

बैतडी, ३१ चैत–
बैतडीका कच्ची ग्रामीण सडकहरुमा यातायात व्यवसायीले मनोमानी भाडा लिन थालेको यात्रुहरुले गुनासो गरेका छन् । जिल्लाका सबै जसो कच्ची सडकमा तोकिए भन्दा बढी भाडा लिने गरेको यात्रुहरुको गुनासो रही आएको छ । बैतडीको देहिमाण्डौंदेखि गिरेगाडा सम्म २७५ रुपैंया भाडा तोकिए पनि यातायात व्यवसायी ४०० देखि ५०० सम्म भाडा असुल गर्ने गरेका छन् ।

देहिमाण्डौंदेखि डिब्ड्या सम्म १८० रुपैंया भाडा तोकिएको भए पनि आफुले तीन सय भाडा तिरेको डिब्ड्याका खेमराज पन्तले बताए । सम्बन्धित निकायले चासो नदिँदा सर्वसाधारण बढी भाडा तिर्न बाध्य भएका उनले बताए  । उनले भने ‘यति भाडा दिएमात्रै जान्छु नत्र जाँदैन भन्ने यातायात व्यवासायीको ढीपीका कारण यात्रुहरु मारमा छन् । यातायात व्यवसायीले भने बमोजीमकै भाडा तिर्नुपर्ने बाध्यता रही आएको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

कच्ची सडकको भाडा पहिला नै तय भएको भएपनि कतिपय ठाउँमा स्तरोन्नती भएका सडकमा समेत बढी भाडा तिर्नुपर्ने बाध्यता रही आएको नागार्जुनकै दीपकराज पन्तले बताए । सडक स्तरोन्नती भएपछि कम भाडा हुनुपर्ने ठाउँमा तोकेको भन्दा दोब्बर भाडा असुल भईरहेको उनले आरोप लगाए ।

कच्ची सडकमा बढी भाडा लिएको यो उदाहरण मात्रै हो । जिल्लाका अधिकांश कच्ची सडकमा तोकिएको भन्दा दोब्बर तेब्बर भाडा तिर्नुपर्ने बाध्यता यात्रुलाई छ । बढी भाडा नतिरे गाडी नै जाँदैन भन्ने यातायात व्यवसायीको धम्कीले सर्वसाधारण मारमा परेका छन् । कच्ची सडकमा भाडा नियमनका लागि सरोकारवाला निकाय मौन बसेपछि गाडीवालाकै बोलबाला चल्ने गरेको छ ।

 यता ट्राफिक प्रहरीले भने बढी भाडा लिएको पाइएमा कारवाही हुने बताएको छ । जिप नम्बर सहित उजुरी गरेमा बढी भाडा लिने व्यवसायीलाई कारवाही गर्ने ट्राफिक प्रहरी कार्यालयका प्रमुख आकाश रावलले बताए । उनले भने ‘हामीलाई उजुरी आउँदैन । चेकिङ गर्न गएको बेला पनि यात्रुहरुले भाडाको बिषयमा खासै कुरा उठाउँदैनन् । यसले गर्दा बढी भाडा असुल गर्नेहरु कारवाहीको दायरामा आउन सकेका छैनन् ।’

ट्राफिक प्रहरीले छोटो दुरीका हरेक सवारी साधनमा भाडादर टाँस गर्न लगाएको र भाडादर टाँस नगरेको पाइएमा कारवाही गर्ने दाबी गरेको छ । तर यात्रुहरुले भने जहिले पनि बढी भाडा तिर्नुपरीरहेको गुनासो गरिरहेका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update