Sagun Khabar
डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कार प्रकरण : युवती गर्भवती भएपछि बाहिरियो घटना 

डडेल्धुरा –डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कार गर्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । भागेश्वर गाउँपालिकाकी २० वर्षीया विवाहित युवतीलाई सामूहिक बलात्कार गर्ने चार जनालाई बिहीबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो ।

पीडित युवतीको गर्भ रहेको खुलासा भएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ । भदौ ३० गते भागेश्वरमा सञ्चालित स्वास्थ्य शिविरमा युवतीको स्वास्थ्य परीक्षण गर्दा उनी गर्भवती भएको खुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

ती युवतीलाई चारैजनाले सामूहिक रुपमा जबरजस्तीकरणी गरेको खुलासा भएपछि उनीहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

प्रहरीले भागेश्वर गाउँपालिका–३ ओडगाँउका २३ वर्षीय कमल ओड, सोही ठाउँका १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओडलाई सार्वजनिक गरेको हो । 

प्रहरीका अनुसार प्रकाश र दीपक अविवाहित हुन् । उनीहरूले गत वैशाख महिनामा विवाहित ती युवतीलाई सामूहिक रूपमा जबरजस्तीकरणी गरेका डीएसपी कार्कीले बताए । 

पीडित युवतीका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् । स्थानीय नानीगाड खोलामा वैशाख ५ गते र वैशाख १२ गते बाँझो घरको गोठमा बेलुकीको समयमा गरी दुईपटक ती युवतीमाथि बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी कार्कीले जानकारी दिए ।

बलात्कार आरोपमा पक्राउ परेका चारैजनामाथि जिल्ला डडेल्धुराबाट सातदिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update