Sagun Khabar
फुटको सङ्घारमा बैतडी कांग्रेस, गगन र देउवा पक्ष आमनेसामनेः अन्योलमा कार्यकर्ता

बैतडी- नेपाली कांग्रेसभित्र केन्द्रीय स्तरमा चुलिँदै गएको आन्तरिक महासंग्रामको बाछिटाले  बैतडीलाई नराम्ररी गाँजेको छ । संस्थापन पक्ष (गगन थापा समूह) र इतर पक्ष (शेरबहादुर देउवा समूह) बिचको समानान्तर राजनीतिक गतिविधिका कारण बैतडी कांग्रेस औपचारिक विभाजनको सङ्घारमा पुगेको छ ।

असोज ३ र ४ गते जिल्लाका ६९ भन्दा बढी वडामा महाधिवेशन सम्पन्न गरिसकेको संस्थापन पक्ष र आगामी असोज १५ गतेका लागि छुट्टै अधिवेशनको तयारीमा जुटेको इतर पक्षबिच अब केवल वैचारिक मतभेद मात्र रहेन, सिधा–सिधा राजनीतिक हमला र वारपारको स्थिति सिर्जना भएको छ ।   

यसैबिच, नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति चतुरबहादुर चन्दले इतर पक्षले गर्न लागेको असोज १५ गतेको अधिवेशनलाई ‘अर्कै पार्टीको अधिवेशन’ को संज्ञा दिएका छन् ।   

असोज १५ को तथाकथित अधिवेशन गर्नेहरूको चुनाव चिन्ह रूख र चारतारे झण्डा हुन्न’— सभापति चन्दको आरोप

जिल्ला सभापति चतुरबहादुर चन्दले सामाजिक सञ्जालमार्फत इतर पक्ष (देउवा समूह) र असोज १५ को अधिवेशनका जिल्ला संयोजक तोकिएका आफ्नै उपसभापति वीरबहादुर विष्टलगायतका नेताहरूमाथि कडा कटाक्ष गर्नुभएको छ ।   

सभापति चन्दले भन्नुभएको छ, “असोज ३ र ४ गतेको वडा अधिवेशनमा सहभागी हुनुहुँदैन र १५ गतेको (तथाकथित) अधिवेशनमा पनि सहभागी हुने छैनौँ भन्दै एकताको अधिवेशन मात्र हुनुपर्छ भन्नेहरू नै असोज १५ गतेको तथाकथित अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी लिएर पो आए !“   

कार्यकर्ताहरूलाई सचेत रहन अपिल गर्दै चन्दले अझ अगाडि लेख्नुभएको छ, “साथीहरू नझुक्किनुहोला । ३ र ४ को वडा अधिवेशनमा झुक्याएर सहभागी हुन नदिइएका साथीहरूलाई पुनः झुक्याएर कथाकथित १५ गते हुने भनिएको (अर्कै) पार्टीको अधिवेशनमा सहभागी गराउलान्न किनकि त्यो अर्को अधिवेशन गर्ने भन्ने समूहको चुनाव चिन्ह रूख र झण्डा चारतारे हुने छैन ।“   

सभापति चन्दले नियतवश असोज ३ गतेभन्दा अगाडि पत्र सार्वजनिक नगरी असोज ५ गते मात्रै सार्वजनिक गरेर आम कार्यकर्ताहरूलाई फेरि छल र भ्रममा पार्न खोजिएको आरोपसमेत लगाउनुभएको छ ।   

पार्टी फुटाउने नियतले एकतर्फी अधिवेशन गरियो — उपसभापति विष्ट

यता, इतर पक्ष (देउवा समूह) बाट असोज १५ को अधिवेशन गराउन जिल्ला संयोजक तोकिनुभएका जिल्ला उपसभापति वीरबहादुर विष्टले भने संस्थापन पक्षले एकतर्फी रूपमा अधिवेशन गराएर बैतडी कांग्रेसलाई फुटको सङ्घारमा पु¥याएको आरोप लगाउनुभएको छ ।

“हामीहरू पार्टीलाई जुनसुकै हालतमा पनि एकढिक्का र एकताबद्ध बनाएर लैजाने निरन्तर प्रयासमा थियौँ,“ उपसभापति विष्टको भनाइ छ, “तर संस्थापन पक्षले पार्टी फुटाउने नियत र ध्येय राखेर असोज ३ र ४ गते एकतर्फी रूपमा वडा अधिवेशनको नाटक रच्यो । आफ्नो गुटबलका आधारमा एकपक्षीय रूपमा अधिवेशन गरेर उहाँहरूले पार्टीलाई फुटको डिलमा पु¥याउनुभयो।“

विष्टले संस्थापन पक्षका नेता गगन थापा आफ्ना साथी भए तापनि आफू पार्टीको वैधानिक विधान र स्थापित मान्यताअनुसार अघि बढेको दाबी गर्दै असोज १५ गते भव्यताका साथ वडा अधिवेशन सम्पन्न गरेरै छाड्ने चेतावनी दिनुभएको छ ।

फुटको सङ्घारमा बैतडी कांग्रेस, अन्योलमा कार्यकर्ता

जिल्ला सभापति चतुरबहादुर चन्द र उपसभापति वीरबहादुर विष्टबिचको यो जुहारी र आधिकारिकताको भीषण लडाइँले बैतडीका आम नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई चक्रव्यूहमा पारेको छ ।

एकातिर ६९ भन्दा बढी वडामा नयाँ नेतृत्व चयन भइसकेको आधिकारिकता दाबी गरिरहेको संस्थापन पक्ष र अर्कातिर असोज १५ को अधिवेशनलाई वैधानिक भन्दै जुध्न तयार भएको इतर पक्षका कारण बैतडीमा कांग्रेसका दुईवटा समानान्तर संरचना खडा हुने निश्चित प्रायः देखिएको छ । शीर्ष तहबाट तत्कालै कुनै ठोस हस्तक्षेप नभए बैतडी कांग्रेसको यो फुटले चुनावी र साङ्गठनिक दुवै भविष्यलाई जोखिममा पार्ने निश्चित छ ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update