Sagun Khabar
दार्चुलाको महेन्द्र माविमा मोबाइल फोन प्रतिबन्ध

दार्चुला – दार्चुला जिल्ला सदरमुकाम खलङ्गा महाकाली नगरपालिका–४ मा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध गरेको छ । बुधबारदेखि विद्यार्थीहरुलाई मोबाइल फोन प्रतिबन्ध गरेको विद्यालयले जनाएको छ ।

विद्यार्थीले मोबाइल फोनको दुरुपयोग गर्न थालेपछि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध गरेको प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए । विद्यार्थीले पढाइमा ध्यान कम दिने गरेको र कक्षाकोठामा समेत मोबाइल फोन चलाउन थालेपछि प्रतिबन्ध लगाएको उनले बताए । विद्यार्थीले मोबाइल फोनलाई खाली फोटो खिच्ने र सामाजिक सञ्जाल फेसबुक चलाउन प्रयोग गर्ने गरेको पाएपछि प्रतिबन्ध गरेको प्रधानाध्यापक जोशीले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

विद्यालयले यसअघि पनि मोबाइल फोन प्रतिबन्ध गरेको थियो । बीचमा कोभिड–१९ महामारीका कारण खुला गरिएको प्रतिबन्धलाई विद्यालयले अहिले फेरि शुरु गरेको हो ।

विद्यालयले मोबाइल फोन प्रतिबन्ध गरिएकोबारे जिल्ला प्रशासनसहित जिल्ला प्रहरी कार्यालयलाई पनि जानकारी दिएको छ । 

महेन्द्र नमुना माविमा शिशुदेखि कक्षा १२ सम्मको पढाइ हुने गरेको छ । साथै विद्यालयमा प्राविधिक विषयको पनि पढाइ हुँदै आएको छ । विद्यालयमा झन्डै २८ सय जना विद्यार्थी रहेका प्रधानाध्यापक जोशीले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update