Sagun Khabar
बैतडीका ६ जनामा डेङ्गी संक्रमण 

बैतडी–बैतडीमा चालु आर्थिक बर्षको अहिलेसम्म ६ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । 

साउन महिनामा तीन जना र भदौ महिनाको २६ गतेसम्म तीन जना गरेर ६ जनामा डेङ्गी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए । 

पञ्चेश्वर गाउँपालिकाको नागार्जुन स्वास्थ्यचौकी र गिरेगडा स्वास्थ्यचौकीमा उपचारका लागि आएका एक÷एक जना र शिवनाथको उदयदेव स्वास्थ्यचौकीमा उपचारका लागि आएका एकजनामा डेङ्गी संक्रमण पुष्टि भएको हो । 

यस्तै यो महिना जिल्ला अस्पताल बैतडीमा उपचारका लागि आएका तीन जना डेङ्गी संक्रमण पुष्टि भएको सूचना अधिकारी कार्कीले बताए । 

साउनदेखि कार्तिक महिनासम्म डेङ्गी संक्रमणको जोखिम हुने भएकाले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख सुदीप ओखेडाले  बताए । 

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गी संक्रमण हुने गर्दछ । डेङ्गी रोगको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

डेङ्गी संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्नेजस्ता कडा खालका लक्षणसमेत देखा पर्ने गर्दछन् । 

यस्ता खालका लक्षण देखिएमा डेङ्गीको जाँच गर्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । डेङ्गीको जाँच नगरीकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या समेत निम्तिने भएकाले यो तर्फ सबै नागरिक सचेत हुनुपर्नेमा स्वास्थ्य कार्यालयका प्रमुख  ओखेडाले  जोड दिए । 

बैतडीमा गत आर्थिक बर्षमा ६६ जनामा डेङ्गी संक्रमण देखिएको थियो । अघिल्लो आर्थिक बर्ष २०८१÷८२ मा १ सय ५६ जना डेङ्गी संक्रमण पुष्टि भएको थियो । पछिल्लो समयमा पहाडी जिल्लाहरुमा समेत डेङ्गी संक्रमण बढ्दै गएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update