Sagun Khabar
चिट चोर्न नदिएको भन्दै  प्राध्यापकमाथि हातपात 

दार्चुलामा एक विद्यार्थीले चिट चोर्न नदिएको भन्दै  प्राध्यापकमाथि हातपात भएको  घटना बाहिर आएको  छ । फागुन ३ गते दार्चुला बहुमुखी क्याम्पसका स्ववियु सभापति कृष्ण धामीले प्राध्यापक डम्मर साउँदमाथि हातपात गरेका बताइएको छ । एमाले निकट अनेरास्ववियुका स्ववियु सभापति धामीले आफूलाई परीक्षामा चिट चोर्न नदिएको भन्दै हातपात गरेको प्राध्यापक साउँदले जानकारी दिए।

उनका अनुसार धामीली चिट चोरिरहेको बेला सुरुमा ५ मिनेटका लागि कापी खोसिएको र पछि मोबाईलबाट चिट चोरिरहेको पाइएपछि खोस्न खोज्दा लफडा भएको हो। प्राध्यापक साउदले चिट नचोर्न भनेपछि धामीले हलभित्र हान्न खोजेका थिए तर बाहिर आएर आफूमाथि हातपात गरेको प्राध्यापकको भनाई छ।

स्ववियु सभापति धामी स्नातक तह सातौं सेमेस्टर (बिएड) मा अध्ययनरत छन्। धामीले हातपात गरेको विषय सोही दिन जिल्ला प्रहरी कार्यालय दार्चुलामा गएर मिलापत्र भएको बुझिएको छ। प्रहरी स्रोतका अनुसार धामीका आफन्तले प्राध्यापकलाई उजुरी फिर्ता लिएर मिलापत्रका लागि आग्रह गरेपछि सोही दिन ११ बजे राति मिलापत्र गरिएको थियो।

मुद्दा लागेपछि आफ्नै विद्यार्थीको भविष्य बिग्रने भएकाले मिलापत्र गरेको प्राध्यापकको दाबी छ। उता सभापति धामीले भने आफूलाई मात्र चिट चोर्न नदिने र अरुलाई दिने गरेको आरोप लगाउँदै आएका छन्।
 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update