Sagun Khabar
हिरासतबाट भागेका अभियुक्तलाई समात्न खोज्दा दार्चुलामा लडेर प्रहरी जवानको मृत्यु 

दार्चुला –दार्चुलामा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सुवान चौधरीको प्रहरी कार्यालय पछाडी रहेको भीरबाट लडेर सोमबार बिहान साढे ११ बजेतिर मृत्यु भएको हो । अन्दाजी ३० बर्षीय प्रहरी जवान चौधरीको घर कैलालीको कैलारी गाउँपालिका रहेको बताइएको छ । 

प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षीय उमेश कुँुवरलाई अस्पताल लैजान खोज्दा  हतकडीसहित भागेपछि चौधरीले उनलाई समात्न खोज्दा लडेर टाउकोमा गम्भीर चोट लागेको थियो । भीरबाट लडेर टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो । कर्तव्य पालनाको सिलसिलामा प्रहरी जवान चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

हिरासतमा रहेका कुँवर हतकडीसहित महाकाली नदि पारगरी भारततर्फ फरार भएका थिए । कुँवरलाई महाकाली नदी पारी पट्टि भारतमा रहेको (जीआर) ले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको छ । 

हिरासतमा रहेका कुँवर यस अघि माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका थिए । फरार रहेका कुँवरलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो । कुँवरले श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो । 

घरमा पुगेका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्ना माथि कुँवरले चक्कु प्रहार गरी घाइते बनाएका थिए ।
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update