Sagun Khabar
मार्माका प्रमुख प्रशासकीय अधिकृत आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ 

दार्चुला –दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी आगजानीमा संग्लन रहेको आरोपमा पक्राउ परेका छन् । प्रहरीले उनलाई सदरमुकाम खलंगाबाटै नियन्त्रणमा लिइएको हो ।

गएको फागुन २४ गते राति प्रमुख प्रशासकीय अधिकृत अधिकारी सुतेको कोठामा आगजनी र ढुंगामुढा प्रहार भएको घटना बाहिर आएको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त आगजनी र ढुंगामुढामा प्रमुख प्रशासकीय अधिकृत आँफै संलग्न रहेको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

गाउँपालिकाले समेत उक्त घटनामा प्रमुख प्रशासकीय अधिकृतविरुद्ध जाहेरी दर्ता गरेको थियो । उक्त जाहेरीका आधारमा जिल्ला अदालतबाट सात दिनको म्याद थपेर प्रमुख प्रशासकीय अधिकृत अधिकारीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 

उनीविरुद्ध अपराधिक उपद्र गर्न नहुने मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

आगजनीको घटनालगत्तै निजामति कर्मचारी संघसंगठन र सरोकारवालाहरुले घटनाको छानबीन र दोषीमाथि कारवाहीको माग गरेका थिए । 

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमाथिको घटनालाई सबैतिर गम्भीर रुपमा हेरिएपछि सुदूरपश्चिमका वरिष्ठ प्रहरी उपरीक्षक दिल्लीराज विष्ट नेतृत्वको टोलीले फागुन २६ गते मार्मा गाँउपालिका केन्द्र लटिनाथ पुगेर स्थलगत निरीक्षण समेत गरेका थिए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीको नेतृत्वमा अनुसन्धान टोली समेत खटाइएको थियो । 

गोरखा जिल्ला गण्डकी गाउँपालिका–१ घर भई हाल काठमाण्डौं जिल्लाको नागार्जुन नगरपालिका–१ रानीवनमा बसोवास गर्दै आएका अधिकारी २०८० भदौदेखि मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका थिए । २७ बर्षीय अधिकारीले आँफै किन यस्तो गरे भन्नेमा अझै केही खुलेको छैन् । यो बिषय अनुसन्धानमै रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update