Sagun Khabar
बैतडीका ३ पालिकामा आँखा शिविर सम्पन्न, २ हजार २ सय बढीले सेवा लिए 

बैतडी –बैतडीका ३ ओटा पालिकामा सञ्चालन भएको आँखा शिविरबाट २ हजार २ सय बढी नागरिकले सेवा लिएका छन् । वैशाख अन्तिम साता पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकामा सञ्चालन भएको शल्यक्रियासहितको आँखा शिविरबाट स्थानीय नागरिकले सेवा लिएका हुन् । 

सम्बन्धित स्थानीय तह र च्यारिटी हेल्थ फाउण्डेसनको आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो । 

Atrya hospital

तीनओटै पालिकामा सञ्चालन भएको शिविरमा २ हजार २ सय ४३ जनाले सेवा लिएको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले जानकारी दिए । 

जिल्लाको पुर्चौंडी नगरपालिकामा सञ्चालन भएको शिविरमा ८ सय ५ जनाको आँखा परीक्षण गरिएको थियो । उक्त शिविरमा १ सय ४३ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको अध्यक्ष चन्दले जानकारी दिए । 

यस्तै सुर्नया गाउँपालिकाको शंकरपुर स्वास्थ्यचौकीमा आयोजना गरिएको शिविरमा ८ सय ५ जनाले सेवा लिएकोमा ९५ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए । 

यस्तै शिवनाथ गाउँपालिकामा आयोजना भएको शिविरमा ६ सय ३३ जनाले आँखा परीक्षण गराएकोमा १ सय ६ जनाको आँखाको मोतिबिन्दु र चार जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए । 

गाउँपालिकाबासीको सहजताका लागि शिविरको आयोजना गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update