Sagun Khabar
रसुवा बाढीमा सम्पर्क विहिन भएका बैतडीका ८ जनाको अवस्था अझै अज्ञात

बैतडी –भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्क विहिन भएका बैतडीका आठ जनाको अवस्था अझै अज्ञात रहेको छ । उनीहरु सम्पर्क विहिन भएको १६ दिन भइसक्दा केही जानकारी नआएपछि परिवारजन चिन्तमा परेका छन् । 

भोटेकोशी नदीमा आएको बाढी पछि डिलाशैनी गाउँपालिकाका तीन जना, सुर्नया गाउँपालिकाका एक जना, दोगडाकेदार गाउँपालिकाका दुई जना,  सिगास र पञ्चेश्वर  गाउँपालिकाका एक ÷एक जना सम्पर्क विहिन रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार लाङटाङ हाइड्रो पावरमा कार्यरत सुर्नया गाउँपालिका–५ ककस्यालीका २४ बर्षीय केशव बिष्ट, रसुवा ड्याम साइडमा कार्यरत डिलाशैनी –७ धामीगाउँका ३० बर्षीय पूर्णसिंह धामी, भोटेकोशी प्रोजेक्टमा कार्यरत सोही ठाउँका ३८ बर्षीय विरेन्द्र धामी, डिलाशैनी गाउँपालिका–२ छेपट्टा घर भइ सशस्त्र प्रहरीको बिओपी टिमुरेमा कार्यरत २२ बर्षीय बिनिता बोहरा,दोगडाकेदार गाउँपालिका–२ बसाड घर भइ प्रहरीचौकी रसुवागढीमा कार्यरत २९ बर्षीय प्रहरी सहायक हवलदार हिक्मत महरा र त्रिशुली हाइड्रोपावरमा कार्यरत दोगडाकेदार गाउँपालिका–१ रीमका ४० बर्षीय पदम साउँद सम्पर्कविहिन रहेका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिका–६ बिजुल घर भइ रसुवा हाइड्रो पावरमा कार्यरत ४० बर्षीय देवबहादुर चन्द र सिगास गाउँपालिका–७ घर भइ इलाका वन कार्यालय इलाममा कार्यरत २३ बर्षीय लक्ष्मण ऐर नुवाकोटबाट सम्पर्कविहिन रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

यस्तै बाढीपछि सम्पर्कविहिन भएका सुर्नया गाउँपालिका–६ मोतीनगरका ३२ बर्षीय हरिश चन्दको भने केही दिन पहिला शव फेला परेको थियो । 

सम्पर्कविहिन भएका व्यक्तिहरुको अवस्था अज्ञात हुँदा परिवारजन निकै चिन्तामा परेका छन् । लामो समयसम्म सम्पर्कविहिन भएकाहरुको अवस्था अज्ञात हुँदा परिवार चिन्तामा परेको सुर्नया–५ का भानबहादुर बिष्टले बताए । 

सम्पर्कविहिन भएका व्यक्तिहरुका आफन्तको डिएनए परीक्षणका लागि रगतको नमूना संकलन गरेर पठाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ०८:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update