Sagun Khabar
माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, सरकार अल्पमतमा

काठमाण्डौ – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले  जानकारी दिए ।
सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिने भएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो ।

हिजो बसेको माओवादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । संसद विघटनपछि पुनःस्थापना हुँदासमेत केपी शर्मा ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्याउन पत्र बुझाइएको माओवादी केन्द्रले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतिनिधिसभामा माओवादी केन्द्रको ४९ सांसद रहेको छ । समर्थन फिर्ता लिएसँगै सरकारसँग अब नेकपा एमालेका एक सय २१ सांसद मात्रै रहेका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन दुई सय ६७ सांसदमध्ये एक सय ३६ सांसद आवश्यक पर्ने हुन्छ । जसमध्ये अरु दलका १५ सांसदको साथ भए प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार टिकाउन सक्नुहुन्छ । तर, नेकपाभित्रकै खनाल–नेपाल समूह पनि ओलीको विकल्प खोजिरहेकोले विश्वासको मत लिन प्रधानमन्त्री ओलीलाई सहज छैन ।

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update