Sagun Khabar
बैतडीमा तीन सहित सुदूरपश्चिममा ६ ज्योतिर्लिङ्ग

बैतडी –भगवान शिवका बाह्र ज्योतिर्लिङ्ग मध्ये तीनओटा बैतडीमा रहेका रहेका छन् । जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यका अनुसार भगवान शिवका बाह्र ज्योतिर्लिङ्ग नेपालमै रहेका र ती मध्ये तीन ओटा बैतडीमा रहेका छन् । 

बैतडीमा केदारनाथ ज्योतिर्लिङ्गको स्थापना गर्दै जगद्गुरु देवाचार्यले रौलाकेदार केदारनाथ ज्योतिर्लिङ्ग रहेको पुष्टि गरे । पुराणहरुमा केदारनाथ ज्योतिर्लिङ्गको बारेमा व्याख्या गरिएको र त्यो व्याख्या रौलाकेदारसंग मिलेकाले केदारनाथ ज्योतिर्र्लिङ्ग बैतडीमै रहेको उनले बताए । पौराणिक सरयु (सुुर्नया) नदीको पश्चिमी भागमा अवस्थित पहाडमा भगवान शिवको ज्योतिर्लिङ्ग रहेको उनको भनाई छ । रौलाकेदार पौराणिक रावलाद्री पर्वतमा रहेको उल्लेख गरिएको उनले बताए । 

यस्तै विश्वनाथ ज्योतिर्लिङ्ग र रामेश्वर ज्योतिर्लिङ्ग पनि बैतडीमै रहेको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताए । सुर्नया नदीको किनारमा अवस्थित बनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग रहेको उनले बताए । यस्तै रामगंगा र सरयु नदीको किनार पाटन ६ मा रामेश्वर ज्योतिर्लिङ्ग रहेको उनले बताए । 

ज्योतिर्लिङ्गको दर्शन गर्ने भन्दै हजारौं रुपैंया खर्च गरेर भारत जानुभन्दा आफ्नो ठाउँमा भएका ज्योतिर्लिङ्गहरुको पहिचान हुनुपर्नेमा जगद्गुरुले जोड दिएका छन् । आफूले नेपालमै बाह्रओटा ज्योतिर्लिङ्ग भएको शास्त्रीय हिसाबले पुष्टि गरिसकेको उनले बताए । 

यस्तै दार्चुलाको मालिकार्जुनमा मल्लिकार्जुन ज्योतिर्लिङ्ग, दार्चुलाको नौगाडमा नागेश्वर ज्योतिर्लिङ्ग र अछाममा वैद्यानाथ ज्योतिर्लिङ्ग रहेको जगद्गुरुको भनाई छ । 

नेपालमा रहेका ज्योतिर्लिङ्गहरुको अझै प्रचारप्रसार हुन नसकेको उनले बताए । सुर्नया र दोगडाकेदारको सीमामा केदारनाथ ज्योतिर्लिङ्गको स्थापना गर्दै जगद्गुरुले यस्ता धामहरुको बारेमा प्रचारप्रसार हुनुपर्नेमा जोड दिए । 

ज्योतिर्लिङ्गको महिमाका बारेमा जानकारी गराउन सके धार्मिक पर्यटकहरुको घुइँचो लाग्ने उनले दाबी गरे । उनले भने ‘मैले नेपालमा बाह्र ज्योतिर्लिङ्ग छन् भन्ने कुरा शास्त्रहरुबाट प्रमाणित गरेको हुँ । अब यसमा सबैले सहयोग गर्नु आवश्यक रहेको छ ।’ 
 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update