बैतडी – लगातारको बर्षा र हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबाली क्षति पुर्याएको छ । घोगा लाग्ने बेलामा मकैबालीमा क्षति पुगेको किसानहरुले बताएका छन् । सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा बर्षा र हावाहुरीले मकैबाली क्षति पुर्याएको स्थानीय रामबहादुर महराले बताए ।
बर्षा र हावाहुरीले मकै भाँचिएपछि भोकमरी हुने भन्दै किसानहरु चिन्तित बनेका छन् । यसअघि जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा पनि मकैबालीमा क्षति पुगेको थियो ।
जिल्लाको मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ । हरेक बर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको उत्पादन घट्दै गएको दशरथचन्द नगरपालिका १ का किसान देवदत्त भट्टले बताए ।
बैतडी मकै जोन क्षेत्र भएपनि विभिन्न कारणले मकैबालीमा क्षति हुँदै आएको छ । मकैबालीमा फौजीकिरा, विभिन्न जंगली जनावर, विभिन्न प्रकोपले मकैबालीमा क्षति पुग्दै आएको कृषि ज्ञान केन्द्र बैतडी कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए ।
बैतडीमा १४ हजार ५ सय हेक्टर क्षेत्रफल जमीनमा मकै खेती गरिँदै आएको छ । तर जंगली जनावर बाँदर, बँदेल लगायतबाट पनि मकै जोगाउन मुस्किल भएको किसानहरुले बताएका छन् ।




