बैतडी –बैतडीको पाटन बजारका व्यवसायीहरुले छाडा पशुचौपायाको व्यवस्थापन गर्न माग गरेका छन् । छाडा पशुचौपायका कारण बजारमा दुर्गन्ध फैलिएकाले छाडा पशु चौपायाको व्यवस्थापन गर्न आफूहरुले माग गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर भण्डारीले बताए ।
छाडा पशुचौपायाहरुले पसलको वरीपरी फोहर गरेकाले गोबर सोहर्नु परीरहेको उनले बताए । व्यापारीहरुले छाडा पशुचौपायाका घाटीमा विभिन्न नारा लेखेका प्लेकार्ड समेत झुण्ड्याएका छन् ।
छाडा पशुचौपायाका कारण निकै समस्या भएकाले आफूहरुले छाडा पशुचौपायाका घाटीमा विभिन्न नारा लेखिएका प्लेकार्ड राखेको स्थानीय धुव्र बिष्टले जानकारी दिए । छाडा पशुचौपायाका कारण बजार क्षेत्रमा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।
पटक पटक छाडा पशुचौपायाको व्यवस्थापन गर्न आग्रह गरेपनि नगरपालिकाले ध्यान नदिएको व्यापारीहरुको गुनासो रही आएको छ ।
बजार क्षेत्रमा रहेका छाडा पशुचौपायाको व्यवस्थापनका लागि नगरपालिकाले पहल गरिरहेको पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले जानकारी दिए । आफूले पालेका पशुचौपायाहरुलाई नछोड्न नगरबासीहरुलाई उनले आग्रह गरे ।




