बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा बहुमतद्वारा बजेट पारित भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बुधबार नगरपालिकाले बहुमतद्वारा आगामी आर्थिक बर्षको बजेट पारित गरेको थियो । कांग्रेसबाट निर्वाचित उपमेयर लगायत वडा अध्यक्षहरुले सभा बहिष्कार गरेको समयमा बहुमतद्वारा बजेट पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
नेपाली कांग्रेस दशरथचन्द नगरकार्य समितिको बिहीबार बसेको बैठकले सहमतिका आधारमा अगाडि बढ्न नगरपालिकाको नेतृत्वलाई आग्रह गरेको छ । बैठकपछि निकालेको विज्ञप्तीमा नगरपालिका सहमतिमै अगाडि बढ्ने विश्वास लिइएको छ ।
दशरथचन्द नगरकार्य समितिका सभापति भुवनराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तीमा दशरथचन्द नगरपालिकामा गएको पाँच बर्षमा नेपाली कांग्रेस नेतृत्वको सरकार रहेको र सो सरकारले सहमतिकै आधारमा सत्ता सञ्चालन गरेको कुरा स्मरण गराएको छ ।
बहुमतका आधारमा पेलेर जाने नीति लिएमा भोलिका दिनमा आउन सक्ने परिणामको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने विज्ञप्ती मार्फत चेतावनी दिइएको छ । यस्तै नगरपालिका विधि सम्मत तरीकाले अघि नबढे कानुनी बाटो अपनाउने समेत कांग्रेसले जनाएको छ ।





