Sagun Khabar
दशरथचन्दका विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालन गर्न छलफल 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका अन्तर्गत रहेका विद्यालयहरुमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापनाका लागि छलफल गरिएको छ । किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा जानकारी दिने उद्देश्यले विद्यालयहरुमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना गर्ने बिषयमा छलफल भएको हो । 

नेपाल परिवार नियोजन संघ शाखा पाटन बैतडी र संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपीए)को संयुक्त सहकार्यमा दशरथचन्द नगरपालिकामा बसेको बैठकमा उक्त बिषयमा छलफल भएको नेपाल परिवार नियोजन संघ पाटन बैतडीका शाखा प्रबन्धक उद्धवदेव भट्टले जानकारी दिए । 

विद्यालयहरुमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापनाका लागि विभिन्न संघसंस्थाहरुसंग पहल गरिने दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश भट्टले बताए । यस्तै दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापनाका लागि पहल गरिने बताए । 

किशोरकिशोरीहरुको सजिलोका लागि विद्यालयहरुमा सूचना केन्द्र सञ्चालनका लागि नगरपालिका सकारात्मक रहेको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update