बैतडी –आज राति सुदूरपश्चिम सहित देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
मौसमविद्ले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श सूचना निकाल्दै सावधानी अपनाउन आग्रह गरेका हुन् ।
मौसमविद् सजिना शाक्यका अनुसार राति सुदूरपश्चिम, प्रदेश–१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
राति लगातारजसो झरी पर्ने नै अनुमान गरिएको छ । यसले गर्दा पहाडी क्षेत्रमा बाढी, पहिरो र तराईमा डुबानको जोखिम रहेको उनले बताइन् ।
मनसुन थप सक्रिय हुने भएकाले आज रातिदेखि धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको हो । मनसुनी न्यून चापीय रेखा अहिले पश्चिमी भू–भागबाट उत्तरतिर सर्दै गरेकाले पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।यस्तै, आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ ।




