Sagun Khabar
बैतडीमा जनप्रतिनिधि र कर्मचारीलाई सेवा सम्पादनमा सहजताका लागि प्रशिक्षण  

बैतडी –बैतडीमा जनप्रतिनिधि र कर्मचारीहरुलाई सेवा सम्पादनमा सहजताका लागि  प्रशिक्षण दिन थालिएको छ । शनिबार शिवनाथ गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको सहयोगमा शिवनाथका जनप्रतिनिधि र कर्मचारीहरुलाई नागरिकता सिफारिस लगायत जिल्ला प्रशासन कार्यालयसँग सम्बन्धित सेवाका विषयमा अभिमुखीकरण गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र  भारतीले  जानकारी  दिए । 

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रशासनले दिने सेवाका बारेमा जानकारी दिने र सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यले प्रशिक्षण दिइएको भारतीले बताए । अन्य पालिकाहरुमा पनि विस्तारै कार्यक्रम सञ्चालन गरिने उनले बताए । 

जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नागरिकता लगायतका सेवाहरुलाई प्रभावकारी बनाउने बिषयमा जनप्रतिनिधि र कर्मचारीहरुसंग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । स्थानीय तह र प्रशासन दुवैले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन प्रशिक्षण दिइएको उनले बताए । 

स्थानीय तह तथा वडा कार्यालयबाट सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय पुगेका सेवाग्राही आवश्यक कागजात नपुगी पटक पटक फर्किनु पर्दा सेवाको लागत बढेको र सेवाग्राहीले झन्झट बेहोर्नु परेकोमा यो कार्यक्रमले त्यसको न्यूनीकरण हुने प्रशासनको अपेक्षा छ ।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउँदको अध्यक्षता तथा प्रमुख जल्ला अधिकारी सुरेश पन्थीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न अभिमुखिकरण कार्यक्रममा प्रशासनका प्रशासकीय अधिकृतद्वय खगेन्द्र भारती र शंकर बोहरा, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update