बैतडी –बैतडीको दशरथचन्द नगरपालिका १ स्थित जगदम्बा आधारभूत विद्यालय पहिरो उच्च जोखिममा परेको छ । लगातारको बर्षाका कारण विद्यालयको आँगन जोगाउन लगाएको पर्खाल भत्किएको छ । करीब ३० मिटर लामो पर्खाल भत्केर भीर बनेको विद्यालयका शिक्षक अम्बादत्त बडुले बताए । मंगलबार रातिको बर्षासंगै खसेको पहिरोले विद्यालय भवन पहिरोको जोखिममा परेको हो ।
आँगन जोगाउन लगाएको पर्खाल भत्किएपछि विद्यालय भवन समेत जोखिममा परेको शिक्षक बडुले बताए । पर्खाल भत्केर भीर बनेका कारण दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । तत्काल पर्खाल मर्मत गर्न नसकिए थप क्षति हुने विद्यालयले जनाएको छ ।
विद्यालय भवन पहिरोको जोखिममा परेपछि पर्खाल मर्मतका लागि विद्यालयले सरोकारवाला निकायसंग आग्रह समेत गरेको छ । कक्षा ६ सम्मको पढाई भइरहेको सो विद्यालयमा स–साना विद्यार्थीहरु भएकाले दुर्घटनाको जोखिम समेत बढेको शिक्षक बडुले बताए ।
विद्यालयको भत्केको पर्खाल मर्मत गर्न नसके पहिरोले विद्यालय भवनमा समेत क्षति पुर्याउने सम्भावना रहेको बताइएको छ ।




