बैतडी –बैतडीको गोठलापानी बजारमा सवारी साधन पार्किङ गर्न नपाइने भएको छ । बीच बजारमा सवारी साधन पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै आगामी साउन १ गतेदेखि अनिवार्य रुपमा बसपार्कमै सवारी साधन पार्किङ गर्नुपर्ने निर्णय भएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सार्वजनिक सवारी साधनलाई व्यवस्थापन गर्न बसपार्कमै पार्किङ गर्नुपर्ने निर्णय गरेको हो । यस्तै यात्रुहरुलाई सवारी साधनमा चढ्न र ओराल्न मिल्ने गरे दुई ठाउँमा स्ट्याण्ड पोइन्ट राख्ने निर्णय पनि भएको छ । गोठलापानी–झुलाघाट सडकखण्डको सार्वजनिक शौचालय नजिकै एउटा पोइन्ट र गोठलापानी–शाहीलेक सडकखण्डको जगन्नाथ बहुमुखी क्याम्पस नजिकै अर्को स्ट्याण्ड पोइन्ट राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
यस्तै सडक क्षेत्रमा ट्राफिक संकेत र सडक संकेत राख्ने निर्णय पनि भएको छ । यात्रुहरुलाई सहज होस भनेर दशरथचन्द नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयसंग समन्वयमा संकेत राख्ने निर्णय भएको हो ।
गोठलापानी बजारलाई व्यवस्थित बनाउन, सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन र दुर्घटनाको जोखिम कम गर्न यस्तो निर्णय भएको बताइएको छ ।
बैठकमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, यातायात व्यवसायी, बजार व्यवसायी लगायतको सहभागिता थियो ।




