बैतडी –बैतडीको पाटन नगरपालिकाले अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकहरुलाई अवकाश दिने भएको छ । नगरपालिकाले विद्यालयहरुलाई पत्र लेख्दै आगामी साउन १ गतेदेखि लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिन निर्देशन दिएको छ । नगर शिक्षा समितिको निर्णय अनुसार नगरपालिकाको अनुदानमा राखिएका नगर स्वयंसेवक शिक्षकहरुसंग लाइसेन्स नभएमा अवकाश दिन भनिएको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले बताए ।
अघिल्लो सरकारको पाला नगरपालिकाले १२९ जना नगर स्वयंसेवक शिक्षक नियुक्त गरेकोमा लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिन लागिएको शिक्षा शाखा प्रमुख भट्टले बताए । लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिएपछि शिक्षक नभएका ठाउँमा शिक्षक भर्ना प्रक्रिया शुरु हुने उनले बताए । यस्तै विद्यालयहरुमा दरबन्दी मिलान समेत गरिने बताइएको छ । उनले भने ‘शिक्षक नभएका ठाउँमा शिक्षकको व्यवस्थापन गर्ने, बढी शिक्षक भएका ठाउँमा दरबन्दी मिलान गर्ने, अपुग शिक्षकहरुका लागि विज्ञापन आह्वान हुनेछ ।’
पाटन नगरपालिकाले शिक्षा समितिलाई पूर्णता दिएर सोही समितिको राय अनुसार अहिले शिक्षा क्षेत्रमा परिवर्तनका लागि काम गरिरहेको बताइएको छ । नगरपालिका क्षेत्रभित्र रहेका विद्यालयहरुमा शिक्षकको अभाव नहोस भनेर दरबन्दी मिलानको काम समेत गरिने बताइएको छ ।




