बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ६ त्रिकालीस्थित महादेव मावि दयनीय अवस्थामा पुगेको छ । कक्षा १० सम्म पढाइ हुने सो विद्यालयमा भवनको समस्या एकातिर छ भने अन्य भौतिक समस्या रहेको बताइएको छ ।
विद्यालय भवनको छानो उडाएको भएपनि अहिले सम्म मर्मत गरिएको छैन् । विद्यालयको छानो मर्मत नहुँदा कक्षाकोठाभित्रै बर्षातको पानी जमेको जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले बताए । उनले भने ‘म कामको सिलसिलामा त्यहाँ पुग्दा विद्यालयको अवस्था निकै दयनीय रहेको पाए । विद्यालय व्यवस्थापन समितिले पनि ध्यान लिएको पाइएन् ।’
सो विद्यालयमा ३६ लाखको लागतमा ४ कोठे भवन निर्माण कार्य भइरहेको भएपनि अहिले सम्म पूरा हुन सकेको छैन् । विद्यालय व्यवस्थापन समितिले निर्माणको जिम्मा लिएको भएपनि घाटा लागेको भन्दै भवन निर्माण कार्य अधुरै छोडिएको छ ।
२०५७ सालमा स्थापना भएको सो विद्यालयमा शैक्षिक र भौतिक वातारण निकै कमजोर अवस्थामा रहेको जिल्ला समन्वय समिति सदस्य भाटले बताए । उनले भने ‘विद्यालयमा भवन निर्माणाधिन अवस्थामा छोडिएको छ । शौचालयको अवस्था त्यस्तै छ । छानो उडाएको भवन मर्मत गरिएको छैन् ।’
यो बिषयमा पुर्चौंडी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र साउँदले विद्यालयको समस्याका बारेमा विद्यालय प्रशासनसंग छलफल गर्ने बताए । विद्यालयमा भएको वास्तविक समस्याका बिषयमा बसेर छलफल गरिने उनले बताए ।
विद्यालय भवन निर्माण कार्य घाटा लागेको भन्दै छोडिएको कुरा सुन्नमा आएकाले स्टमेट अनुसार घाटा कसरी भयो यसको यथार्थ विवरण बुझ्ने उनले बताए । उनले भने ‘विद्यालयलाई राम्रो तरीकाले सञ्चालन गर्ने जिम्मा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको हो । यो बिषयमा हामी छलफल गरेर अघि बढ्छौं ।’
यसैबीच विद्यालयको अवस्था सुधारका लागि एक नवविवाहित दम्पतीले नगद सहयोग गरेका छन् । पाटन नगरपालिका ९ का नरेन्द्र महराले पुर्चौंडी ६ की धाना साउँदसंग विवाह बन्धनमा बाँधिएकै दिन ५ हजार ३० रुपैया सहयोग गरेका छन् । विद्यालयमा बर्षे बिदा भएकाले महरा दम्पतीले विद्यालयका शिक्षक जनक साउँदलाई नगद हस्तान्तरण गरिएको हो ।




