बैतडी –बैतडीको गोठलापानी बजारमा आजदेखि गाडी पार्किङ निषेध गरिएको छ । सार्वजनिक तथा निजी कुनै पनि सवारी साधनलाई बजारमा पार्किङ गर्न रोक लगाइएको छ । केही दिन पहिला जिल्ला प्रशासन कार्यालयमा बसेका सर्वपक्षीय बैठकले बजार क्षेत्रमा पार्किङ गर्न नदिने गरेको थियो ।
सोही निर्णय बमोजीम गोठलापानी बजारमा आजदेखि गाडी पार्किङ निषेध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । बजार क्षेत्रमा सवारी साधन पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्दै गएकाले बजार क्षेत्रमा पार्किङ निषेध गरिएको हो ।
कुनै पनि सवारी साधनलाई बसपार्कमा पार्किङ गर्ने निर्णय भएकाले सोही निर्णय आजदेखि कार्यान्वयनमा आएको सूचना अधिकारी भारतीले बताए । यात्रुहरुलाई ओर्लन तथा चढ्न सजिलोका लागि दुईओटा स्ट्याण्ड पोइन्ट निर्धारण गरिएका छन् । गोठलापानी–झुलाघाट सडकखण्डको सार्वजनिक शौचालय नजिक र गोठलापानी –शाहीलेक सडकखण्डको जगन्नाथ बहुमुखी क्याम्पस नजिक स्ट्याण्ड पोइन्ट राखिएको छ ।
बजार क्षेत्रमा पार्किङ निषेध भएपछि कामका लागि पुग्नेहरुलाई समेत सहज भएको छ । बजार क्षेत्रमा गाडीको भीडभाड हुँदा दुर्घटनाको जोखिम भएकोमा पार्किङ निषेध गरिएपछि सजिलो भएको स्थानीय खगेन्द्र भट्टले बताए । उनले भने ‘यो निर्णय पूर्ण रुपमा कार्यान्वयन हुनुपर्दछ । केही दिनमा फेरी बजारमै पार्किङ हुन थाल्यो भने समस्या हुन्छ । त्यसैले निर्णयको सबैले परिपालन गर्न आवश्यक रहेको छ ।’




