बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले आइतबारदेखि विद्युतीय टोकन प्रणाली शुरु गरेको छ । सेवाग्राहीलाई सेवा लिन सहज होस भनेर विद्युतीय टोकन प्रणाली शुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान हुने सेवालाई सहज रुपले प्रदान गर्नका लागि विद्युतीय टोकनको व्यवस्था गरिएको र टोकनका आधारमा सेवा दिने कार्य शुरु भएको उनले बताए ।
टोकन प्रणालीका आधारमा जसले नाम दर्ता अगाडि गराएको छ उसले अगाडि सेवा पाउने सूचना अधिकारी भारतीले बताए । सबैलाई समान किसिमले सेवा दिने वातावरण मिलाउनका लागि यो कार्य शुरु गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने ‘प्रशासन कार्यालयका सेवालाई प्रभावकारी बनाउन हामीले विद्युतीय टोकन प्रणाली शुरु गरेका छौं । यसले निष्पक्ष रुपमा सेवा प्रवाह गर्न सहज हुने हाम्रो विश्वास छ ।’
जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाण पत्र लिन, नागरिकताको प्रतिलिपि लिन, राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न, राहदानी बनाउन, नाबालिक परिचय पत्र बनाउन लगायत अन्य सेवा लिन आउने सबैलाई टोकन प्रणालीका आधारमा सेवा दिने कार्य शुरु भएको हो । यसले सेवाग्राहीहरुलाई सजिलो हुने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । उनले भने ‘सेवा दिने बेलामा कसैलाई काखापाखा हुँदैन् । टोकन प्रणालीमा नाम दर्ता भए अनुसार सेवा प्रवाह हुन्छ । यसले गर्दा सबै नागरिकलाई सहज हुन्छ ।’




