बैतडी –बैतडीमा उमेर बढाएर थप ७ जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको खुलेको छ । नेपाली नागरिकताको प्रमाणपत्रमा आफूखुसी जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको खुलेको हो ।
दशरथचन्द नगरपालिका वडा नं ११ का ७ जनाले उमेर बढाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको खुलेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । राष्ट्रिय परिचय पत्रको विवरण संकलनको क्रममा उनीहरुले नागरिकतामा आफूखुसी जन्ममिति बढाएको खुलेको हो ।
जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई सामाजिक सुरक्षा ऐन र नागरिकता ऐन अनुसार कारवाही हुने सूचना अधिकारी भारतीले बताए ।
यसअघि बैतडीका १६ जनाले आफूखुसी जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको खुलेको थियो । १६ जना मध्ये २ जनाले भने आफूले बुझेको भत्ताको दोब्बर रकम सम्बन्धित स्थानीय तहमा फिर्ता गरिसकेका छन् ।
जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिनेहरुबाट दोब्बर रकम असुल गरिने बताइएको छ । यस्तै नागरिकता ऐन अनुसार पनि कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैतडीमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका २२ जना फेला परेका छन् भने जिल्लाका अन्य ठाउँमा पनि यसरी भत्ता बुझेको हुन सक्ने अनुमान गरिएको छ । अहिले सम्म डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र मेलौली नगरपालिकामा जन्ममिति बढाएर भत्ता बुझ्नेहरु फेला परेका हुन् ।




