बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका १ स्थित हाट स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टर सहितको सेवा शुरु भएको छ । नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसंगै हाट स्वास्थ्यचौकीबाट एमबीबीएस डाक्टर सहितको सेवा शुरु गर्ने घोषणा अनुरुप सेवा शुरु भएको हो ।
आजदेखि स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टर सहित ओपडी सेवा र आकस्मिक सेवा सुचारु भएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए । सो स्वास्थ्यचौकीबाट जनरल अल्ट्रासाउण्ड सेवा पनि शुरु गरिएको छ । यस्तै इसजी र एक्सरे मेसिन जडानको काम शुरु भएको उनले बताए ।
तत्कालका लागि डाक्टर प्रकाश चौधरीले हाट स्वास्थ्यचौकीमा सेवा दिइरहेका नगरपालिकाले जनाएको छ । नगरबासीको उपचार सेवामा पहुँच पुर्याउन स्वास्थ्यचौकीबाट एमबीबीएस डाक्टर सहितको सेवा शुरु गरिएको पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए ।
हाट स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरले सेवा दिन थालेपछि नगरबासीलाई सहज हुने विश्वास गरिएको छ ।




